विराटनगर । कोबास कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम विराटनगरस्थित होटल रत्नामा सम्पन्न गरेको छ।
ए आइ थिममा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक प्रणाली, अध्ययन वातावरण, अनुशासन, अवसर तथा भावी योजनाबारे जानकारी गराइएको थियो।
कार्यक्रमको आकर्षणको केन्द्र चंखे रोबर्ट रहेको थियो। जसलाइ लाई प्रत्यक्ष भेट्न, उनका प्रस्तुति हेर्न तथा तस्बिर खिच्न विद्यार्थीहरू उत्साहित देखिएका थिए। उनको प्रस्तुति शैलीले कार्यक्रमलाई थप जीवन्त र रोचक बनाएको सहभागीहरूले बताएका थिए।
विराटनगरमै पहिलो पटक कलेजको अभिमुखिकरण कार्यक्रममा रोबर्टको प्रयोग गरिएको हो । जसले कार्यक्रमलाई नयाँपन दिएको थियो ।
कलेजकी प्रिन्सिपल प्रिया सारडा ले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता हासिल गर्ने आधार भएको बताइन्। उनले गुणस्तरीय शिक्षामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम नागरिकका रूपमा विकास गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख गरिन्।
कलेजका अध्यक्ष सुमन कालिकोटेले आजका विद्यार्थीहरू नै भोलिका राष्ट्रनिर्माता भएको उल्लेख गर्दै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गरे। उनले शैक्षिक उत्कृष्टतासँगै नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र व्यवहारिक ज्ञानलाई पनि कलेजले विशेष प्राथमिकतामा राखेको बताए।
कार्यक्रममा गीत, सङ्गीत तथा नृत्यका विविध प्रस्तुतीले थप रौनकता थपेका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले हलमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।
यिनै प्रस्तुतिमध्ये डन स्कुलका सञ्चालक नितिन गजुरेल ले गाएको राष्ट्रप्रेमी गीत विशेष आकर्षण बनेको थियो। उनको सुमधुर प्रस्तुतिले उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। गीत सकिएलगत्तै हल लामो समयसम्म तालीको गडगडाहटले गुन्जिएको थियो।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज व्यवस्थापनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी लिएका थिए।
कलेजका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई नयाँ शैक्षिक वातावरणमा सहज रूपमा घुलमिल हुन तथा आफ्नो अध्ययन यात्राप्रति थप आत्मविश्वासी बन्न सहयोग पुग्ने विश्वास लिइएको छ।
View : 51
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved