विराटनगर - जेनिथ इन्टरनेशनल कलेजका बीबीए छैटौं सेमेस्टरका विद्यार्थीहरूले ‘कर्पोरेट गभर्नेन्स’ विषयअन्तर्गतको परियोजना कार्यका रूपमा आयोजना गरेको इन्टर कलेज प्लस–टु फुटसल प्रतियोगिता–२०२६ को उपाधि कान्तिपुर कलेजले जितेको छ।
बिराटनगर सिटी फुटबल क्लब (बीसीएफसी) को सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा कान्तिपुर कलेजले एरागोन कलेजलाई पराजित गर्दै उपाधि हात पारेको हो। विजेता कान्तिपुर कलेजले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता एरागन कलेजले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो।
प्रतियोगितामा कान्तिपुर कलेज, बीकेभीएम, एरागन कलेज, आदर्श माध्यमिक विद्यालय, सत्कार कलेज, अर्किड कलेज, सरस्वती माध्यमिक विद्यालय र सेन्ट जोसेफ प्लस–टु गरी आठ शैक्षिक संस्थाको सहभागिता थियो।
समापन समारोहका प्रमुख अतिथि प्रा. डा. सन्देश दास श्रेष्ठ रहेका थिए। कार्यक्रममा जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा. डा. दुर्गानन्द चौधरी, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ तथा आईक्यान कोशी प्रदेशका अध्यक्ष अश्विनी बंशलको उपस्थिति थियो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सात खेलका ‘म्यान अफ द म्याच’ खेलाडीलाई जनही १ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। पहिलो खेलमा जेनिश लामिछाने, दोस्रोमा रिजन शिवाकोटी, तेस्रोमा जेनिथ कार्की, चौथोमा समीर बस्नेत, पाँचौंमा अविनाश मण्डल, छैटौंमा श्रवण कामत र फाइनलमा प्रकाश ताटी ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) आयुष तामाङ घोषित भए। उनले क्यालिबर सुजद्वारा प्रायोजित विशेष पुरस्कार प्राप्त गरे।
विद्यार्थीहरूलाई नेतृत्व, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
View : 254
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved