विराटनगर । मदन पुरस्कार विजेता अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’मा आधारित नाटक विराटनगरमा मञ्चन हुने भएको छ। काठमाडौंको गैरीधारास्थित कान्तिपुर थिएटरमा १०१औँ शोसम्म मञ्चन भइसकेको नाटक अब कोशी प्रदेशका दर्शकका लागि विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत गर्न लागिएको हो।
नाटक यही भदौ १२, १३ र १४ गते तीन दिन मञ्चन हुनेछ। हरेक दिन बिहान ९ बजे, दिउँसो १२ बजे र अपराह्न ३ बजे गरी तीनवटा शो सञ्चालन हुने आयोजकले जनाएको छ। नाटकको टिकट बुकिङसमेत खुला गरिएको छ।
दर्शकले कान्तिपुर थिएटरको वेबसाइटमार्फत ई–सेवा वा खल्तीबाट भुक्तानी गरी टिकट बुक गर्न सक्नेछन्। सिटअनुसार टिकटको मूल्य ३००, ५००, ७०० र १ हजार रुपैयाँ निर्धारण गरिएको छ। नाटकको अवधि १ घण्टा ४० मिनेट रहेको छ।
कोशी प्रदेशको इलामकी ७ वर्षीया बाल कलाकार एड्रिन धमाला नाटककी मुख्य भूमिकामा छन्। नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन्। अनुप तिमिल्सिनाले संगीत निर्देशन, सागर बिसीले सेट डिजाइन र दीपेश गजुरेलले लाइट डिजाइन गरेका छन्। नाटकको निर्माण तथा बजारीकरण कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीले गरेका हुन्।
नाटकमा गीत विष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, अर्नव घिमिरे, विरान दहनी, प्रतीक चौधरी, नितेश लोहार, विकल्प ओली, रविन पुन मगर, अर्जुन राई, एलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, आराध्या दाहाल, तेजस्वी शर्मा, स्वीकृति पन्त, सुप्रज्ञा शर्मा र वर्षा भण्डारालगायत कलाकारले अभिनय गरेका छन्।
काठमाडौंमा भएको मञ्चनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्री पत्नी सबिना काफ्ले, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना, पर्यटन तथा संस्कृति मन्त्री खडकराज पौडेल, कानुनमन्त्री सोविता गौतमलगायत पूर्वमन्त्री, सांसद, साहित्यकार तथा वरिष्ठ कलाकारहरूले नाटक अवलोकन गरेका थिए।
विराटनगरमा हुने पहिलो शोमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ। नाटक मञ्चनका लागि काठमाडौंँबाट लेखक अमर न्यौपानेसहित करिब ३५ जनाको कलाकार तथा प्राविधिक टोली विराटनगर आउने बताइएको छ। सञ्चारकर्मी टीकाराम यात्री तथा कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीईओ प्रकाश पुरीसमेत विराटनगर आउने जनाइएको छ।
कोशी प्रदेशका विभिन्न जिल्ला तथा आसपासका शहरबाट दर्शकलाई विराटनगर आएर ‘सेतो धरती’ हेर्न आयोजकले आग्रह गरेको छ। सीमित शो भएकाले अग्रिम टिकट बुक गर्नसमेत आह्वान गरिएको छ।
विराटनगरपछि ‘सेतो धरती’ चितवन र पोखरामा समेत मञ्चन हुने जनाइएको छ।
टिकट बुकिङ तथा थप जानकारी:
कान्तिपुर थिएटरको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।
Shows detail and booking link :
www.kantipurtheatre.com/play/seto-dharti-biratnagar
www.facebook.com/KantipurTheatre
View : 45
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved