विराटनगर, भाद्र १० – विराट मेडिकल कलेज टिचिङ हस्पिटललको स्त्री तथा प्रसूति आकस्मिक (गाइने इमर्जेन्सी) सेवा र महिला तथा प्रसूति विभागको नयाँ भवनमा स्थापना गरिएको अत्याधुनिक अपरेसन थिएटर सोमबार काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेवाट उद्धाटन गरिएको छ ।
उक्त अवसरमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले नेपालबाट हाल करिब ६० हजार नर्स विदेशमा कार्यरत रहेको तथ्य प्रस्तुत गर्दै यसलाई गलत दृष्टिले मात्र नहेर्न आग्रह गरे ।
“हामीले उत्पादन गरेका जनशक्ति विश्वभर मागमा छन् भने यसको कारण हाम्रो गुणस्तर नै हो,” उनले भने, “नेपालकै नर्सहरू संसारभर बिकिरहेका छन्, यो हाम्रो पहिचान हो । आफ्नो देश भन्न पाएका छौँ, बस्न पाएका छौँ, स्थायी ठेगानामा नेपाल भन्न पाएका छौँ, यसमै हाम्रो गौरव छ ।”
उनले विदेश गएका नेपालीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाए पनि मुलुकभित्रै बस्नुपर्ने शिक्षा दिन जरुरी रहेको बताए । “टेक्नोलोजी नजिकिँदै जाँदा हामी समाजसँग टाढिँदै गएका छौँ, यसलाई सच्याउनुपर्छ,” उनले भने ।
वाग्लेले पछिल्ला वर्षमा करिब ८ खर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको उल्लेख गर्दै राज्यले उच्च शिक्षाको संरचना र भिजनबारे दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याए ।
“उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा विराट मेडिकल कलेजजस्ता संस्थाले महत्वपूर्ण योगदान दिइरहेका छन्,” उनले भने, “राज्यले यस्ता संस्थाहरूसँग सहकार्य गर्दै राष्ट्रिय हितअनुकूल नीति तयार गर्नुपर्छ ।”
विराट मेडिकल कलेजले गुणस्तरीय सेवाका लागि सेवा विस्तारको क्रम जारी राखेको छ ।
View : 118
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved