विराटनगर जुनियर जेसीजको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म सेन्ट मेरिज विद्यालय विराटनगरमा तीनदिने ‘Knitting and Crocheting Workshop’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य निरुपित उपाध्यक्ष आरोग्य कोइरालाले दिनुभएको थियो भने अध्यक्ष आयुषा खातीवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो त्यस्तै, कार्यकारिणी उपाध्यक्ष सृजेश कट्टेलले आगामी कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।
कार्यशालामा सहभागी विद्यार्थीहरूलाई प्रमिला हस्तकला तर्फबाट अनुभवी प्रशिक्षकहरू प्रमिला डंगोल, मेनुका भुजेल, उर्मिला लामा, कल्पना तामाङ र निशा श्रेष्ठद्वारा बुनाइ (Knitting) र क्रोशेटिङ (Crocheting) सम्बन्धी विविध सीपहरू प्रदान गरिएको थियो। प्रशिक्षकहरूले डिजाइन निर्माण, धागोको प्रयोग, सुई प्रविधिको व्यावहारिक तालिम दिँदै विद्यार्थीहरूलाई सिर्जनात्मक सीप विकासमा अभिप्रेरित गरेका थिए।
कार्यक्रमको दोस्रो दिन बिराटनगर महानगरपालिकाका प्रतिनिधि कृष्ण भट्टराई र अम्बिका सुवेदी ज्यूको पनि विशेष उपस्थिति रहेको थियो। उहाँहरूले यस्ता सिर्जनात्मक कार्यशालाले विद्यार्थीहरूमा आत्मनिर्भरता र सीपमूलक सोच विकास गर्न सहयोग पुग्ने बताउँदै कार्यक्रमको प्रशंसा गर्नुभयो।
कार्यक्रमकी प्रमुख अतिथि, विद्यालयकी प्रिन्सिपल सिस्टर म्यारिलिन सीजेले यस्ता सिर्जनात्मक तथा सीपमूलक गतिविधिले विद्यार्थीहरूको आत्मविश्वास र सृजनशीलता अभिवृद्धिमा ठूलो टेवा पुग्ने बताउँदै आयोजकलाई धन्यवाद दिनुभयो।
यस अवसरमा पूर्व अध्यक्ष जेसी उज्ज्वल खरेल तथा क्षेत्र 'ए' का कोअर्डिनेटर जुनियर जेसी गौरव कर्णले पनि आफ्नो उपस्थिति जनाउँदै सहभागी विद्यार्थीहरूलाई उत्साहित बनाउनुभएको थियो ।
विराटनगर जुनियर जेसीजले यस्ता सीप विकासमूलक कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
View : 323
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved