विश्व वातावरण दिवस
विराटनगर, २२ जेठ — विश्व वातावरण दिवसको अवसरमा आज बिहान विराटनगरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “वनस्पति लगाऔं, स्वच्छ सास फेरौं” भन्ने नारासहित विराटनगर जेसीजको आयोजनामा सम्पन्न कार्यक्रममा आँप, लिची र कागतीका बिरुवा रोपिएका छन्।
वृक्षारोपण कार्यक्रम विराटनगर–१३, आश्रम टोलस्थित पूर्वाञ्चल बाल सेवा आश्रमको प्राङ्गणमा बिहान ७:४५ बजेबाट सुरु भएको थियो। कार्यक्रमको अध्यक्षता विराटनगर जेसीजका अध्यक्ष प्रीतेश राज दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथि सीता पोखरेल रहनुभएको थियो।
कार्यक्रमको प्रारम्भमा उपाध्यक्ष अनुज दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसपछि कार्यकारिणी उपाध्यक्ष अभिषेक भट्टराईले कार्यक्रमको उद्देश्य, महत्व र वातावरण संरक्षणमा यसले पुर्याउने योगदानबारे प्रकाश पार्नुभएको थियो।
अध्यक्ष प्रीतेश राज दाहालले आफ्ना भनाइ राख्दै भन्नुभयो, “हामीले आज रोपेका यी बिरुवाहरू केवल हरियालीका लागि मात्र होइन, स्वस्थ भविष्यका लागि पनि सन्देशवाहक हुन्। वातावरण जोगाउने जिम्मेवारी हामी सबैको हो, र यस्ता कार्यक्रमले त्यो जिम्मेवारी स्मरण गराउँछ।”
कार्यक्रमको समापनमा कार्यक्रम संयोजक ममता रिमालले धन्यवाद ज्ञापन गर्दै सहभागी सबैप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा विराटनगर जेसीजका पदाधिकारी, सदस्यहरू, तथा बाल सेवा आश्रमका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइनेछ।
View : 134
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved