काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिन् ।
उनले गरिमा चौधरीको हत्याको घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै यस्ता जघन्य अपराधमा दोषी ठहर हुने व्यक्तिलाई मृत्युदण्डबाहेक संविधानसम्मत सबैभन्दा कठोर सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।
संविधानले मृत्युदण्ड निषेध गरेको उल्लेख गर्दै उनले दोषीलाई जीवनभर कारागारमा राख्ने, सजायमा अनावश्यक छुट नदिने तथा राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउने अवस्था अन्त्य गर्नुपर्ने बताइन् ।
‘कानुन यस्तो कठोर होस् कि अपराध गर्नुअघि अपराधीले पटकपटक होइन, लाखौं पटक सोचोस्,’ उनले भनिन् ।
सांसद रम्तेलले आफूहरूले बदला नभई न्याय मागिरहेको स्पष्ट पारिन् । संविधानको मर्म र मानवअधिकारको सम्मान गर्दै संविधानभित्रै रहेर अपराधीलाई कठोर कानुनी परिणाम भोगाउनुपर्ने उनको भनाइ थियो ।
उनले गरिमाको न्याय, बालिकाको सुरक्षा र अपराधीमाथि कठोर कानुनी कारबाहीका लागि सरकार गम्भीर बन्नुपर्ने बताइन् । साथै, यस विषयमा सरकारले स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग गरिन् ।
View : 23
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved