काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूमा कांग्रेस र कम्युनिष्ट दुबै विचारको संयोजन रहेको बताएका छन्।
बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक यात्राको सुरुवात कांग्रेस निकट विचारबाट भएको स्मरण गरे। स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थ विमोचन समारोहमा भट्टराईले भने, "शेरबहादुर लगायतका साथिहरूलाई भन्न चाहन्छु, म सामान्तवाद, निरङ्कुशता र राजतन्त्रविरुद्धको चेतना लिएर लागेको मान्छे हुँ। त्यसैले २०३३ सालसम्म म कांग्रेस निकट थिएँ।"
उनले लोकतन्त्रका दुई धार कांग्रेस र कम्युनिष्टको चर्चा गर्दै, दुवैको विचार अपुरो रहेको तर्क गरे। "कांग्रेसले व्यक्तिगत स्वतन्त्रताको मात्रै कुरा गर्छ, कम्युनिष्टले समानतामा मात्रै जोड दिन्छ— तर समाजका लागि आवश्यक कुरा भनेको स्वतन्त्रता र समानता दुबै हो," उनले प्रष्ट पारे।
"त्यही बुझाइका कारण म अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट— अर्थात् दुवैको गुण बोकेको, र त्यसैकारण अलिकति अगाडि बढेको नयाँ मान्छे हुँ," भट्टराईले मुस्कुराउँदै थपे।
उनले स्व. न्यौपानेसँगको सहकार्यलाई पनि स्मरण गरे, "न्यौपानेजीबाट मैले लोकतान्त्रिक चेतना सिक्ने मौका पाएँ, जुन मेरो राजनीतिक यात्राको महत्वपूर्ण पाटो रह्यो।"
View : 456
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved