विराटनगर, कात्तिक १९। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने प्रयासस्वरूप लायन्स क्लब अफ विराटनगरका अध्यक्ष लायन चाँद इराकीले मदरसा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
आफ्नो जन्मदिनको अवसरमा इराकीले विराटनगरस्थित मदरसा कादरिया इस्लामियाका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेका हुन्। विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने र शिक्षाप्रति उनीहरूको रुचि तथा उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
जन्मदिनमा हुने खुसीलाई सामाजिक सेवामार्फत अरूसँग बाँड्ने सोचका साथ कार्यक्रम गरिएको अध्यक्ष इराकीले बताए। बालबालिकाको शैक्षिक यात्रामा सानो सहयोगले पनि अर्थपूर्ण प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले उनीहरूको अनुहारमा मुस्कान ल्याउन पाउनु नै आफ्नो लागि विशेष खुसीको विषय भएको धारणा राखे।
कार्यक्रममा लायन्स क्लब अफ विराटनगरका द्वितीय उपाध्यक्ष लायन शिवनारायण प्रधान, सचिव लायन इन्जिनियर विशेश्वर महतो, सदस्य कविता साहनी तथा मदरसाका प्रधानाध्यापक मोहम्मद तौकिरलगायतको उपस्थिति थियो।
लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरको आयोजनामा सम्पन्न कार्यक्रमले व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै शिक्षा र बालबालिकाको भविष्यप्रति सेवाभाव व्यक्त गरेको छ।
जन्मदिनमा गरिने यस्ता साना प्रयासले समाजमा सहयोग, सद्भाव र मानवीय सेवाको भावना विस्तार गर्न सक्ने सन्देशसमेत कार्यक्रमले दिएको छ।
View : 1148
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved