सुनसरी - अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दा सोमबार राति कोसी ब्यारेजका ३८ ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। दिउँसो ४ बजेतिर मात्र दुई लाख ५६ हजार १० क्युसेक प्रवाह रहेकामा केही घण्टामै उच्च वृद्धि भएपछि थप ढोका खोलिएको हो। दिउँसोसम्म ३४ ढोका खोलिएकोमा रातिसम्म पुग्दा संख्या बढेर ३८ पुगेको उनले बताए।
खतिवडाका अनुसार ब्यारेजमा रातो बत्ती बालिएको छ। एक लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहाव हुँदा खतराको संकेतस्वरूप रातो बत्ती बालिने प्रावधान छ। उनले भने, “रातो बत्ती बालिनु भनेको तत्काल डुबानको प्रत्यक्ष जोखिम भएको होइन, तर सतर्क रहनुपर्ने अवस्था हो।”
हाल प्रत्यक्ष डुबानको खतरा नरहे पनि निरन्तरको वर्षाले जलसतह अझै बढ्न सक्ने भन्दै कोशी आसपासका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा जोखिमपूर्ण स्थानमा नजान र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ।
View : 196
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved