कुनै समय देशको राजनीति र अर्थतन्त्रको ‘कन्ट्रोल रुम’ मानिने विराटनगर अहिले आफ्नै पहिचानको संकटमा छ भन्ने आम विराटनगरवासीको धारणा, राजनीतिको केन्द्र काठमाडौँतिर सरेको चिन्ता र यही धमिलिएको साखलाई पुनः ब्युँताउने संकल्पका साथ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आइतबार विराटनगर ४,आइतवारेको चुनावी सभाबाट स्पष्ट रुपमा "विराटनगरको गुमेको साख म फर्काउँछु।" भन्ने उद्घोष गर्नुभएको छ ।
राजनीतिको मुटु र उद्योगको जननी मानिने विराटनगरलाई केवल इतिहासको पानामा सीमित हुन नदिने डा. कोइरालाको दाबी छ। उहाँले भन्नुभयो, "हामीले गौरवपूर्ण इतिहास त भोग्यौँ, तर अबको पुस्तालाई समृद्ध भविष्य दिनु छ। विराटनगरलाई फेरि देशको राजनीतिक र औद्योगिक राजधानीका रूपमा उभ्याउनु मेरो मुख्य ध्येय हो।"
विगत केही दशकदेखि सुस्ताएको विराटनगरको औद्योगिक साख फर्काउन डा. कोइरालाले 'विशेष आर्थिक क्षेत्र' (SEZ) लाई मुख्य अस्त्रका रूपमा अघि सार्नुभएको छ। निर्माणको चरणमा रहेको यो परियोजनाले स्थानीय स्तरमा हजारौँ रोजगारी सिर्जना गर्ने र लगानीकर्ताको आत्मविश्वास बढाउने उहाँको विश्वास छ। "उद्योग बाँचे मात्रै शहर बाँच्छ," उहाँले थप्नुभयो, "हामी विकासको गतिलाई अब कछुवा हिँडाइमा होइन, तीव्र गतिमा लैजानेछौँ।"
पछिल्लो समय राजनीतिप्रति युवा पुस्तामा देखिएको वितृष्णालाई डा. कोइरालाले नयाँ ढंगले सम्बोधन गर्ने प्रयास गर्नुभएको छ। नयाँ पुस्ता अर्थात् 'जेन-जी' (Gen Z) का डिजिटल सपना र विश्वव्यापी आकांक्षालाई सम्बोधन गर्न सक्ने एक मात्र शक्ति कांग्रेस भएको उहाँको तर्क छ। "आजको युवाले गफ होइन, ग्यारेन्टी र अवसर खोजेको छ। उनीहरूको नवीन सोचलाई राष्ट्र निर्माणको मूलधारमा जोड्ने भिजन कांग्रेससँग मात्र छ," कोइरालाले भन्नुभयो।
विराटनगरको पहिचानलाई खेलकुदसँग जोड्न उहाँले 'गिरिजाप्रसाद कोइराला स्टेडियम' निर्माणलाई आफ्नो प्रतिष्ठाको विषय बनाउनुभएको छ। यसले विराटनगरलाई खेलकुद गन्तव्य बनाउने उहाँको योजना छ।
समय भन्दा अघि निर्वाचन आएको र अधुरो अपुरो योजनाहरु पूरा गर्न बाकी रहेको स्विकार्दै कोइरालाले अबका योजनाहरु स्पष्टताका साथ जनताका माझ राख्नुभएको हो ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्नेमा जोड :
आफूहरु बाल्यकालमा हुर्कदै गर्दा कलकत्ता तर्फ विमान जाने गरेको उल्लेख गर्दै नेपालको पर्यटनलाई अघि बढाउन साथै औद्योगिक विकासलाइ अझ विस्तार गर्न क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने र सो कार्यमा आफू लाग्ने सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो ।
आइतवारेको सडकमा जम्मा भएका समर्थकहरू माझ डा. कोइरालाले दिएको यो अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले 'विराटनगरको सेन्टिमेन्ट' समात्ने रणनीतिक प्रयासका रूपमा हेरेका छन्। गुमेको विरासत र आधुनिक युवा पुस्ताको मागलाई कसरी 'फ्युजन' गर्ने भन्ने चुनौतीका बीच डा. कोइरालाको यो प्रतिबद्धताले चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ।
View : 72
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved