Biratnagar, Morang, Nepal
प्रदेश

प्रदेश खेलकुद बोर्डको जिल्ला खेलकुद समितिसँग छलफल

-
अखवारका कुरा
२७ साउन २०८३, बुधवार

Advertisement

विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले प्रदेशका १४ जिल्लाका मातहतको खेलकुद विकास समितिसँग छलफल गरेको छ। 

इटहरीस्थित प्रादेशिक रङ्गशालाको सभाहलमा बोर्डका उपाध्यक्ष तथा सदस्य सचिवले १४ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखसँग छलफल तथा अन्तरक्रिया गरेका हुन्। 

अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका उपाध्यक्ष वसन्तराज अर्यालले प्रदेशमा खेलकुद क्षेत्रको विकासका निम्ति सम्पूर्ण सरोकारवालाहरूको प्रमुख भूमिका हुने भन्दै बोर्डको आगामी कार्यदिशा तथा रणनीति तय गर्न बैठक बोलाइएको बताए। उनले बोर्डले सम्पूर्ण खेल क्षेत्रको विकासका लागि रणनीति निर्माण गरिरहेको जानकारी दिँदै सम्पूर्ण सरोकारवालासँग पृष्ठपोषण लिने कार्य समेत गरिरहेको जानकारी गराए। 

बैठकमा अधिकांश जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखले जिल्लामा बजेटको अभावले गर्दा नियमित खेलकुद गतिविधि हुन कठिन भएको धारणा राखे। उनीहरूले जिल्लामा खेलकुदको प्रशिक्षकको अभावले गर्दा नियमित प्रशिक्षणमा समस्या आउने गरेको, खेल संघहरूले प्रतियोगिता आयोजना गर्दा समितिसँग समन्वयको अभाव देखिएको, खेल पूर्वाधारको सिमितता तथा प्रशासनिक कठिनाई भएको बताए। 

छलफलमा बोर्डका सदस्य सचिव विप्लव घोषले जिल्ला खेलकुद समितिलाई बलियो बनाउन सम्भव भए सम्मको अधिकतम बजेट जिल्लामा पठाउने प्रतिबद्धता गरे। उनले खेल प्रशिक्षकको अभावबारे बोर्ड जानकार रहेको बताउँदै छिट्टै बोर्डबाट निर्णय गर्ने बताए। 

घोषले खेलकुद क्षेत्रको राजनीतिले खेल प्रतियोगितालाई असर गरेको स्वीकार गर्दै बोर्डले जिल्लामा हुने प्रतियोगितामा खेलकुद विकास समितिसँग समन्वय गर्ने गरी मात्रै अनुमति दिने व्यवस्थाबारे अध्ययन समेत थालेको बताए। उनले बोर्डले प्रदेशमा ब्याडमिन्टन संघको समस्या समाधान गर्ने गरेको पहल बारे जानकारी दिँदै संघहरूलाई खेल क्षेत्रमा राजनीति गर्न नभएर खेल र खेलाडीको हित हुने दिशामा अघि बढ्न प्रोत्साहन गर्ने नीति लिएको धारणा व्यक्त गरे। 

अन्तरक्रियाको क्रममा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, १७ औँ संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बारेमा समेत छलफल भएको थियो।

View : 28

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved