नेपाल सरकार, ग्लोबल फण्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित क्षयरोग परियोजनाअन्तर्गत तथा BWSN को साझेदारीमा क्लब गठन गरिएको हो।
विशाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीका क्षयरोग तथा कुष्ठरोग अधिकृत उमेश यादव प्रमुख अतिथि र जलेश्वर नगरपालिकाका स्वास्थ्य सह–संयोजक रामलाला ठाकुर विशिष्ट अतिथि थिए।
कार्यक्रममा बागमती सेवा समाज नेपालका महोत्तरी जिल्ला परियोजना संयोजक जीवनकुमार यादवले टिबी च्याम्पियन क्लबको उद्देश्य र भूमिकाबारे जानकारी गराउँदै समुदायमै सम्भावित बिरामीको समयमै पहिचान, परीक्षण तथा उपचारमा पहुँच विस्तार गर्न क्लबले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले क्षयरोगसँग जोडिएको सामाजिक लाञ्छना न्यूनीकरण गर्न पनि समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
प्रमुख अतिथि उमेश यादवले समुदायको सक्रिय सहभागिताबिना क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताए। उनका अनुसार टिबी च्याम्पियन क्लबले जनचेतना विस्तार, सम्भावित बिरामीको पहिचान तथा उपचारमा सहजीकरण गरेर क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनेछ।
विशिष्ट अतिथि रामलाला ठाकुरले नगरपालिकाले क्षयरोग नियन्त्रणसम्बन्धी कार्यक्रमलाई आवश्यक समन्वय र सहयोग उपलब्ध गराउँदै समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, क्षयरोगबाट निको भएका व्यक्ति, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा विशाल चौधरीको अध्यक्षतामा टिबी च्याम्पियन क्लब गठन गरिएको छ। नवगठित क्लबले समुदायमा क्षयरोगसम्बन्धी जनचेतना फैलाउने, सम्भावित बिरामीलाई परीक्षणका लागि प्रेरित गर्ने तथा उपचाररत बिरामीलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमपछि सहभागीबीच क्षयरोग नियन्त्रणमा समुदायको भूमिकाबारे अन्तरक्रिया र छलफलसमेत भएको थियो। आयोजकका अनुसार यस्ता समुदाय–आधारित संयन्त्रले महोत्तरीमा क्षयरोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार तथा सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
View : 175
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved