Biratnagar, Morang, Nepal
देश

जग्गा विवादमा स्थानीयलाई रूखमा बाँधिएको आरोप, वडाध्यक्ष विवादमा

-
अखवारका कुरा
२९ वैशाख २०८३, मङ्गलवार

Advertisement

सिरहा । औरही नगरपालिका–३ मा सडक विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

स्थानीय वीरेन्द्र साहलाई रूखमा बाँधिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो । घटनामा वडाध्यक्ष जीवछ यादवमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ ।

स्थानीयका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा वीरेन्द्र साहको जग्गा प्रयोग गरिएको भएपनि सडक नियमित सञ्चालनमा आएको थिएन ।

सोमबार वडाध्यक्षसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेपछि विवाद चर्किएको बताइएको छ ।
वीरेन्द्र साहले आफ्नो मात्रै जग्गा लक्षित गरेर सडक बनाइएको भन्दै विरोध गर्दा आफूलाई कुटपिट गरी रूखमा बाँधिएको आरोप लगाए ।

उनले विकासको विरोध नभई न्यायपूर्ण समाधान खोजेको बताए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा वडाध्यक्ष यादवसहित केही व्यक्तिहरू देखिएका छन् । भिडियोमा वडाध्यक्षले वीरेन्द्रलाई हप्काइरहेको दृश्य पनि देखिन्छ ।
यता वडाध्यक्ष यादवले भने सडक अतिक्रमण हटाउन जाँदा अवरोध भएपछि स्थानीयले वीरेन्द्रको हात बाँधेको दाबी गरेका छन् । उनले सडक अतिक्रमण भएको र सोही कारण खाली गराउन गएको बताएका छन् ।

घटनाप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । स्थानीय सन्तोष यादवले कुनै पनि अवस्थामा नागरिकलाई रूखमा बाँध्ने कार्य स्वीकार्य नभएको भन्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे ।

घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले पनि चासो देखाएको छ । प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

View : 9

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved