Biratnagar, Morang, Nepal
सामाजिक सेवा

सोनिया गुप्ता चौधरी रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा पदस्थापन, सामाजिक सेवामा ५ हजार बिरुवा रोप्ने लक्ष्य

-
अखवारका कुरा
२६ असार २०८२, शुक्रवार

Advertisement

 

विराटनगर, असार २७
रोटरी क्लब अफ विराटनगर फ्युजनको नयाँ कार्यकालका लागि सोनिया गुप्ता चौधरी अध्यक्षमा पदस्थापन भएकी छिन्। विराटनगरस्थित होटल ह्यारिसन प्यालेसमा आयोजित एक विशेष समारोहका बीच उनलाई वर्ष २०२५/२६ का लागि औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो।

पर्सा जिल्लाको वीरगञ्ज निवासी चौधरी हाल विराटनगरमा सक्रिय छिन्। उनले हरि खेतान क्याम्पसबाट स्नातकोत्तर (Master's) अध्ययन पूरा गरेकी छन् र हाल त्रिभुवन विश्वविद्यालयबाट कानून (LLB) अध्ययन गरिरहेकी छन्।

नवनियुक्त अध्यक्ष चौधरीले आफ्नो कार्यकालको पहिलो दिन दुई महत्वपूर्ण सामाजिक कार्यहरू सुरु गरिन्। ‘आमाको माया छात्रावास’ की एक छात्रालाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको छ भने ‘एलिना एनीमल प्रिजर्भेसन नेपाल’ लाई कुकुर उद्धारको उद्देश्यलाई साथ दिन सहयोग स्वरूप समर्थन  नगदसहित व्यावसायिक पुरस्कार (Vocational Award) प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले सामाजिक सेवामा क्लबको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले यस वर्ष पाँच हजार बिरुवा रोप्ने महत्वाकांक्षी योजना प्रस्तुत गर्दै शिक्षा, सरसफाइ, खानेपानी तथा वातावरण संरक्षणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिने बताइन्।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष विवेक अग्रवालले आफ्नो कार्यकालमा सम्पन्न महत्वपूर्ण सामाजिक परियोजनाबारे जानकारी दिए। उनले क्लबले विद्यालयहरूलाई सहयोग, शौचालय निर्माण, खानेपानी स्टेसन, साइकलथन, रक्तदान, गरिब तथा असहायलाई सहयोग, आँखा परीक्षण तथा स्वास्थ्य शिविरजस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरे।

रोटरी क्लब अफ विराटनगर फ्युजन, अन्तर्राष्ट्रिय रोटरी संस्थाअन्तर्गत आबद्ध सामाजिक संस्था हो, जसले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा स्वच्छता जस्ता क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

समारोहमा रोटरी डिस्ट्रिक्ट गभर्नर ३२९२ बिनोद कोइराला, असिस्टेन्ट गभर्नर प्रिया सारडा, वरिष्ठ रोटेरियन बेणी गोपाल मुन्धरा, बिनोद अग्रवालसहित क्लबका पदाधिकारी, सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

View : 673

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved