Biratnagar, Morang, Nepal
स्थानीय तह

महेन्द्र मोरङमा रुख कटानको विषयमा वन पैदावार व्यवसायी संघको ध्यानाकर्षण

-
अखवारका कुरा
२९ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा लिलाम गरिएका रुख कटानको विषय विवादित बन्दै गएपछि नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, मोरङले आपत्ति जनाएको छ।
संघका अध्यक्ष रामकुमार दाहालले जारी गरेको विज्ञप्तिमा क्याम्पसले प्रचलित कानुन तथा निर्धारित प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत बिक्री गरेका रुख सम्बन्धित व्यवसायीले खरिद गरिसकेको अवस्थामा कटानको काममा विभिन्न व्यक्तिबाट अवरोध सिर्जना गर्न खोजिएको उल्लेख छ।

संघले सार्वजनिक निकायले कानुनी प्रक्रिया पूरा गरी गरेको लिलाम वा निर्णयप्रति कसैको असहमति वा गुनासो भए त्यसको समाधान विधिसम्मत र कानुनी प्रक्रियाबाट खोजिनुपर्ने जनाएको छ। प्रक्रिया गलत भएको भए सम्बन्धित निकायमा उजुरी गर्ने तथा आवश्यक कानुनी उपचार खोज्ने बाटो खुला रहेको भन्दै कटान कार्यमा प्रत्यक्ष अवरोध सिर्जना गर्नु उचित नहुने संघको भनाइ छ।

विज्ञप्तिमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत पटक–पटक प्रचारप्रसार गरी घटनालाई उचाल्ने, अफवाह फैलाउने वा उत्तेजक अभिव्यक्ति दिने गतिविधिले स्थानीयस्तरको सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरणमा असर पार्न सक्ने भन्दै त्यस्ता गतिविधिप्रति समेत सचेत रहन आग्रह गरिएको छ।

लिलाम प्रक्रियाबाट कानुनी रूपमा रुख खरिद गरेका व्यवसायीको लगानी तथा व्यावसायिक अधिकार संरक्षण गर्नुपर्ने संघले जनाएको छ। कुनै गुनासो वा विवाद भए सम्बन्धित निकायमार्फत कानुनी उपचार खोज्नुपर्ने भन्दै संघले लिलाम प्रक्रिया पूरा गरी रुख खरिद गरेका व्यवसायीलाई निर्वाध रूपमा काम गर्ने वातावरण बनाउन माग गरेको छ।

संघले विवादको तत्काल समाधानका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रशासन, डिभिजन वन कार्यालय मोरङ र स्थानीय प्रशासनको ध्यानाकर्षणसमेत गराएको छ।

यता, क्याम्पस परिसरका रुख कटानको विषयमा वातावरणीय प्रभाव, कटानको आवश्यकता तथा प्रक्रियाबारे उठेका प्रश्नको सम्बन्धित पक्षबाट स्पष्ट धारणा आउन बाँकी छ।

View : 49

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved