Biratnagar, Morang, Nepal
देश

चिन्ता जनसंख्याको

जनसंख्या व्यबस्थापनका लागि २० पछि बिबाह , ३० भित्र ३ सन्तान पाउने तयारी गरौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले कानुनले व्यवस्था गरेको २० वर्षको उमेरमा विवाह गर्ने र ३० वर्षसम्ममा तीन सन्तान पाउने तयारी गर्न पनि आग्रह गर्नुभयो। उहाँले ‘४० कटेपछि रमाउला’ भन्ने सोचले समस्या सिर्जना गर्ने बताउँदै सन्तान नहुने परिस्थिति पनि नआओस् भनेर चेतावनी दिनुभयो।
-
अखवारका कुरा
२६ असार २०८२, शुक्रवार

Advertisement

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समानुपातिक विकास नहुँदा मानव जातिको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिनुभएको छ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनसङ्ख्यालाई धर्तीप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो।

“जनसङ्ख्या नहुँदो हो त न देशको अर्थ रहन्थ्यो, न धर्तीको नै,” प्रधानमन्त्रीले भन्नुभयो, “सन्तान जन्माउने विषयमा पनि हामीले धर्ती र मानव अस्तित्वलाई ध्यानमा राखेर निर्णय गर्नुपर्छ। हचुवामा न नीति बनाउनुपर्छ, न हचुवामा सन्तान जन्माइरहनु पर्छ।"

उहाँले जनसङ्ख्याको असन्तुलनले विश्वको मानव जाति नै संकटमा पार्ने सम्भावना रहेको भन्दै सबै मुलुकले जिम्मेवार नीति ल्याउनुपर्ने बताउनुभयो। “गोष्ठी, सेमिनार गरेर चेतना फैलाउने अनि अर्कोतर्फ आम विनाशका हतियार बनाएर मान्छे मारिरहने प्रवृत्तिले मानव संसार बच्दैन,” उहाँको भनाइ थियो।

प्रधानमन्त्रीले कानुनले व्यवस्था गरेको २० वर्षको उमेरमा विवाह गर्ने र ३० वर्षसम्ममा तीन सन्तान पाउने तयारी गर्न पनि आग्रह गर्नुभयो। उहाँले ‘४० कटेपछि रमाउला’ भन्ने सोचले समस्या सिर्जना गर्ने बताउँदै सन्तान नहुने परिस्थिति पनि नआओस् भनेर चेतावनी दिनुभयो।

“हामीले ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर गलत सन्देश दिँदा उल्टै सन्तानै नजन्मिने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “विकसित देशहरूमा पनि जनसङ्ख्याको वृद्धिदर ऋणात्मक हुँदै गएको छ, यो विश्वका लागि चिन्ताको विषय हो।”

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, नीतिनिर्माताहरू, विज्ञ तथा सरोकारवालाहरूको पनि सहभागिता थियो।

View : 229

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved