Biratnagar, Morang, Nepal
राजनीति

मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो

-
अखवारका कुरा
११ फागुन २०८२, सोमवार

Advertisement

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।
सार्वजनिक भएका तस्बिरहरूमा चुनावी प्रचारसँग सम्बन्धित जुलुस तथा सामूहिक गतिविधिमा नाबालक बालबालिकालाई सहभागी गराइएको स्पष्ट देखिन्छ ।
निर्वाचन आयोगको आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक प्रचार, ¥याली, जुलुस वा दलगत गतिविधिमा प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ। तर उक्त निर्देशनको खुलेआम उल्लङ्घन गरिएको भन्दै स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको हो ।
स्थानीय राजकुमार मानन्धरका अनुसार उम्मेदवार स्वयं संलग्न गतिविधिबाटै कानुन मिचिनु गम्भीर र निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । ‘निर्वाचन निष्पक्ष र मर्यादित हुनुपर्ने बेलामा बालबालिकालाई प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविरुद्ध हो,’ उनीहरूको भनाइ छ ।
यस घटनाले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ। सर्वसाधारणले निर्वाचन आयोग, गृह प्रशासन तथा सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
यस विषयमा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना वा नेपाली कांग्रेसको तर्फबाट हालसम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ६, ७, १४ र १५ मा घरदैलो कार्यक्रमका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा उम्मेदवार दिपक बहादुर सिंहले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको दृश्य सार्वजनिक भएको पाइएको छ ।
सार्वजनिक तस्बिर तथा प्रत्यक्षदर्शीका अनुसार उम्मेदवार सिंह सवारी साधनको सनरूफ (छतको भाग) बाट बाहिर निस्केर समर्थक तथा स्थानीयसँग हात हल्लाउँदै घरदैलो कार्यक्रम गरिरहेका देखिन्छन्।
निर्वाचन आचारसंहिताले सवारी साधन प्रयोग गरी प्रचार–प्रसार गर्दा यात्रुको सुरक्षालाई जोखिममा पार्ने तथा यातायात नियम उल्लङ्घन हुने खालका गतिविधि गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।
स्थानीयवासीहरूले यस्तो कार्यले सडक सुरक्षा र आचारसंहितामाथि प्रश्न उठाएको बताएका छन्। उनीहरूका अनुसार निर्वाचन प्रचारमा सबै उम्मेदवारले समान नियम पालना गर्नुपर्ने भए पनि यस्तो दृश्य देखिनु गलत उदाहरण भएको हो।
त्यस्तैगरी, यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हेटौँडामा आयोजना गरेको कार्यक्रममा बालबालिकालाई झण्डा ओढाएर कार्यक्रम स्थलमा सुरक्षाकर्मीको भूमिकामा खटाइएको आरोप लागेको छ।
कार्यक्रम स्थलमा खटाइएका सुनिल कार्की (१६ वर्ष)र दिनेश लामा (१५ वर्ष)ले आफूहरू नाबालक भएको र कार्यक्रमका क्रममा सुरक्षाको काम गर्न लगाइएको बताएका छन्। उनीहरूका अनुसार, कार्यक्रममा खटेबापत खाजा, खाना तथा प्रति व्यक्ति रु.१५०० उपलब्ध गराइएको थियो।
घटनाबारे स्थानीय अभिभावक तथा नागरिक समाजले छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्। सम्बन्धित निकाय—प्रशासन, बालअधिकार सरोकारवाला संस्था तथा निर्वाचन आयोग—ले यस विषयमा तत्काल ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ।

View : 48

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved