राष्ट्र बैंकले पायो गभर्नर
४४ दिनको प्रतिक्षापछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक नीति, वित्तीय स्थायित्व र बैंकिङ नियमनको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी अब डा. विश्वनाथ पौडेलको काँधमा पुगेको छ।
राजनीतिक रस्साकस्सीबीच केही समय अन्योलमा परेको नियुक्ति प्रक्रिया अन्ततः टुंगोमा पुग्नु आफैंमा राहतको विषय हो। तर यसभन्दा पनि ठूलो कुरा–जसलाई गभर्नर बनाइएको छ, उनी पात्रको हिसाबले योग्य, अनुभवी र दूरदर्शी छन्।
चितवनमा जन्मिएका डा. पौडेलले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। उनी योजना आयोगको उपाध्यक्ष भइसकेका छन्। इसिमोडको सञ्चालक समिति र कोलम्बो प्लान काउन्सिलको अध्यक्षजस्ता अन्तर्राष्ट्रिय जिम्मेवारी उनले सफलतापूर्वक सम्हालेका छन्। विकास अर्थशास्त्रमा उनी गहिरो दख्खल राख्ने विज्ञ मानिन्छन्।
राजनीतिक समीकरण मिलाउँदै नियुक्ति भए पनि अब डा. पौडेलको ध्यान कामतर्फ केन्द्रित हुनुपर्छ। गभर्नरको रूपमा उनले नेपाली अर्थतन्त्रलाई विश्वसनीय दिशा दिन सक्छन् भन्ने अपेक्षा गरिएको छ। पछिल्लो समयको महँगी, व्यापार घाटा, बैंकहरूमा तरलताको असन्तुलनजस्ता विषयमा अब स्पष्ट र दीर्घकालीन समाधान आउने आशा पलाएको छ।
नयाँ गभर्नरले नीतिगत स्पष्टता, संस्थागत अनुशासन र आर्थिक सुधारमा अग्रसरता देखाए राष्ट्र बैंकले मात्र होइन, सम्पूर्ण अर्थतन्त्रले नयाँ गति पाउनेछ।
अब नेतृत्व आएको छ—अब बाटो देखाउने जिम्मा डा. विश्वनाथ पौडेलको हो। देशले आर्थिक स्थायित्व खोजिरहेको छ, र यो नियुक्तिले त्यो अपेक्षा पूरा गर्ने सम्भावना बोकेको छ।
View : 73
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved