जेसीजको बृक्षारोपण अभियान
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर जेसीजले जेसीआई ढाका डिप्लोमेट्स तथा विराटनगर हरित समूहसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा करिब ६० देखि ७० जनासम्मको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै सहभागीहरूले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरणका लागि वृक्षारोपण आवश्यक रहेको बताएका थिए। रोपिएका बिरुवाको संरक्षणलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रमका संयोजक सफलजंग कार्कीका अनुसार वृक्षारोपणसँगै बिरुवाको दीर्घकालीन संरक्षणका लागि सहभागीहरूलाई जिम्मेवारीबोध गराउने उद्देश्य राखिएको थियो। कार्यक्रममा ‘आफ्नो बिरुवा आफैँ रोपौँ, आफैँ जोगाऔँ’ भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो।
विराटनगर जेसीजका निरुपित कार्यकारी उपाध्यक्ष रिजन सिग्देलले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बताउँदै रोपिएका बिरुवाले भविष्यमा छायाँ, स्वच्छ हावा र हरियाली प्रदान गर्ने उल्लेख गरे। बिरुवाप्रति अपनत्वको भावना विकास भए संरक्षण कार्य प्रभावकारी बन्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथि पारुल क्षेत्री, विशिष्ट अतिथि टिकाराज ढकाललगायतले वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए।
विराटनगर जेसीजका अध्यक्ष कबिराज दाहालले वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। वातावरण संरक्षण केवल एक दिनको कार्यक्रम वा औपचारिकतामा सीमित हुन नहुने भन्दै उनले रोपिएका बिरुवाको संरक्षणमा सबैले समान जिम्मेवारी वहन गर्नुपर्ने बताए। वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्तालाई स्वच्छ तथा हरित वातावरण हस्तान्तरण गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
आयोजकका अनुसार कार्यक्रमले विराटनगर जेसीज र जेसीआई ढाका डिप्लोमेट्सबीचको सहकार्यलाई थप मजबुत बनाएको छ। वातावरण संरक्षणजस्ता साझा सरोकारका विषयमा सीमापार संस्थाहरूबीच सहकार्य विस्तार हुँदै गएको सन्देशसमेत कार्यक्रमले दिएको आयोजकको भनाइ छ।
View : 41
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved