Biratnagar, Morang, Nepal
प्रदेश

देवानगञ्ज घटनापछि कोशी प्रदेश सरकारको सर्वदलीय बैठक, आठबुँदे निर्णय

-
अखवारका कुरा
१३ साउन २०८३, बुधवार

Advertisement

विराटनगर, साउन १३: सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिई सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आयोजना गरेको सर्वदलीय बैठकले आठबुँदे निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा बसेको बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बैठकले पालिका तहमा सर्वदलीय बैठक आयोजना गरी राजनीतिक दल, स्थानीय तह, सामाजिक तथा धार्मिक समुदाय र प्रशासनबीच समन्वयलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। स्थानीय प्रशासनसँग सहकार्य गर्दै समुदायस्तरमा मेलमिलाप, सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने तथा सबै धार्मिक समुदाय र संघ–संस्थाले संयुक्त रूपमा शान्ति र सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गर्ने निर्णय पनि गरिएको छ।

निर्णयअनुसार सीमावर्ती क्षेत्रबाट हुन सक्ने घुसपैठ तथा अन्य अवाञ्छित गतिविधि रोक्न सुरक्षा सतर्कता थप कडा पारिनेछ। घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यस्ता घटना अन्य जिल्लामा फैलिन नदिन कोशी प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच आवश्यक समन्वय संयन्त्र सक्रिय बनाइने निर्णय पनि गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, कोशी प्रदेश सरकारले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आगजनीबाट जलेका घर, पसल तथा कबाड सामग्रीका पीडित र घाइतेहरूको उपचार तथा राहतका लागि ५० हजार रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले सबै पक्षलाई संयमता अपनाउन, अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

View : 29

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved