विराटनगर / मोरङमा पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ९ एचपिभी (HPV) खोप अभियान माघ २५ गतेदेखि सुरु हुने भएको छ । कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७५५ बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको हो ।
जिल्ला खोप समन्वय समिति मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा समन्वय समितिका सदस्य सचिव योगराज घिमिरेले माघ २५ देखि अभियान सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ३ देखि ५ दिनभित्र अभियान सम्पन्न गर्ने लक्ष्यसहित जिल्लाभर ८२७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
गत वर्षको अभियानमा छुटेका बालिकालाई पनि यस पटकको अभियानमा समेटिने घिमिरेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष मोरङमा करिब ५० हजार बालिकालाई एचपिभी खोप लगाइएको थियो ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा वर्षेनी करिब १ हजार २ महिलाको ज्यान जाने गरेको उल्लेख गर्दै घिमिरेले खोप र समयमै स्क्रिनिङ नै रोग नियन्त्रणको प्रभावकारी उपाय भएको बताउनुभयो । ‘३० वर्ष माथिका महिलालाई प्राथमिकतामा राखेर स्थानीय तहहरूले भिआईए स्क्रिनिङ नियमित रूपमा गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘खोप अभियानमा लक्षित समूहका कुनै पनि बालिका नछुट्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।’
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले लक्षित समूहमा पर्ने सबै बालिकालाई खोप अभियानमा सहभागी गराउन सरोकारवालालाई सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकाले कुनै संकोच नगरी सहभागी गराउनुपर्ने धारणा राख्नुभयो ।
निजी अस्पताल सञ्चालकहरूको संगठन अफिनका कोशी प्रदेश अध्यक्ष शंकर अधिकारीले खोप अभियानको कभरेज शतप्रतिशत पुर्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘सरकारले सञ्चालन गरेको सार्वजनिक खोप कार्यक्रममा सहभागी नहुने भन्ने कुरा स्वीकार्य हुँदैन,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख उषा झा, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक लगायतले खोप अभियान सफल बनाउन सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । आगामी वर्षदेखि एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने जनाइएको छ ।
View : 66
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved