रथ यात्रा
विराटनगर — कोशी प्रदेशको राजधानी विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने ऐतिहासिक रथयात्राका सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा नेपालकै सबैभन्दा ठूलो र एसियाको दोस्रो ठूलो मानिन्छ । भारत र नेपालका ५ लाख बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीका अनुसार रथ निकाल्ने अन्तिम तयारी पूरा भएको छ । यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा प्रदेश मात्र नभई राष्ट्रकै गौरवको उत्सव भएको बताएका थिए । उनले जन्माष्टमीको अवसरमा प्रदेशवासी र विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
रथयात्रामा भीड व्यवस्थापनसँगै फूलबारी र हरियाली संरक्षण गर्न विराटनगर महानगरपालिकाले विशेष योजना ल्याएको छ । बरगामीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाइएका फूल र बिरुवाको सुरक्षा गर्न स्वयंसेवक परिचालन गरिने भएको छ । मेयर नागेश कोइरालाको उपस्थितिमा स्वयंसेवकलाई तालिमसमेत दिइएको छ । उनले ‘अनुशासनपूर्वक जिम्मेवारी निर्वाह गर्न’ आग्रह गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भए तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राको सुरक्षाका लागि विशेष योजना सार्वजनिक गरेको छ । भिड व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि रोक्न १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
कृष्ण जन्माष्टमीको भोलीपल्ट निस्कने विराटनगरको रथयात्रा आज दिउँसो २ बजेपछि विभिन्न धार्मिक कार्यक्रमसँगै प्रारम्भ हुने जनाइएको छ ।
View : 53
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved