Biratnagar, Morang, Nepal
राजनीति

तरुण दलको माग

कोशी प्रदेशका तरुण दल नेताहरुको माग : दलभित्र नेतृत्व पुस्तान्तरण होस्

-
अखवारका कुरा
२२ असोज २०८२, बुधवार

Advertisement

२२ असोज, विराटनगर । नेपाल तरुण दल कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले राजनीतिक दलभित्र पुस्तान्तरणको आवश्यकता औंल्याउँदै दलका शीर्ष नेतृत्व परिवर्तन गर्न माग गरेका छन्।

तरुण दलले बुधबार जारी गरेको वक्तव्यमा राजनीतिक दलभित्र शुद्धीकरण, सुशासन र नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्न पुस्तान्तरण अपरिहार्य भएको उल्लेख छ। वक्तव्यमा आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा जानु अघि प्रमुख राजनीतिक दलहरूले नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरिएको छ।

कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६० भन्दा बढी सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यको सहमतिमा वक्तव्य जारी गरिएको केन्द्रीय सदस्य विष्णु भुर्तेलले जानकारी दिए।
‘काेशी प्रदेशका ४० केन्द्रीय सदस्यको निष्कर्ष स्पष्ट छ,’ उनले भने, ‘आन्दोलनले दलको नेतृत्व परिवर्तनको आवश्यकता देखाएको छ।’

वक्तव्यमा भनिएको छ, ‘निर्वाचनमा जानु पूर्व मुख्य राजनीतिक दलहरूले मूल नेतृत्व फेरेर आउन भन्ने आमजनताको उत्कट चाहना छ। आ–आफ्नो स्थानबाट तदनुरूपका गतिविधिगत अग्रसर रहन विभिन्न दलमा आवद्ध युवराजनीतिकर्मीहरूलाई आह्वान गर्दछौं।’

तरुण दलले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पन्ध्रौं महाधिवेशनको मिति तोकेर तल्लो इकाइदेखि केन्द्रीय तहसम्म संगठन रूपान्तरण र पुस्तान्तरणको बाटोमा अघि बढ्नुपर्ने माग गरेको छ।

त्यस्तै, जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न पनि तरुण दलले सरकारसँग माग गरेको छ।

View : 91

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved