Biratnagar, Morang, Nepal
शिक्षा

अन्नपूर्ण कलेज अफ ल, विराटनगरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२ चैत २०८२, सोमवार

Advertisement

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अन्नपूर्ण कलेज अफ ल, विराटनगरमा बीएएलएलबी प्रथम वर्षका विद्यार्थीहरूले विविध सिर्जनात्मक कार्यक्रम आयोजना गरेका छन्। “सशक्त महिला, समृद्ध समाज, महिलाको सम्मान, समान अधिकार र सशक्तीकरणतर्फ एक कदम” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्रतिमा पोखरेलले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा विजया नेपाल रहेकी थिइन्। कार्यक्रममा कलेजका अध्यक्ष डाक्टर शम्भु कोइराला, शिक्षादीप कलेजका प्रधानाध्यापक ज्ञानु खड्का, मेरिल्याण्ड कलेजका सञ्चालक भेषराज पोखरेल, शिक्षासेवी शैलेन्द्र शिवाकोटी, कलेजका प्रधानाध्यापक विकास थापा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन रिचा यादव, स्वेता मेहेता र अभिषेक दाहालले गरेका थिए। कार्यक्रममा नृत्य, कविता वाचन, वक्तव्य र नाटकमार्फत महिला अधिकार, सम्मान, समान अवसर र सशक्तीकरणका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

नृत्यतर्फ रानी शर्मा, रिया राना मगर, आयुषा रानामगर, मुना कार्की र सविना कार्कीले सहभागिता जनाएका थिए। त्यसैगरी यमुना मिश्र, विशेषता अधिकारी, दिक्षिका कोइराला, करुणा आचार्य र इन्दिरा भट्टराईले महिला अधिकारसँग सम्बन्धित भनाइ राखेका थिए। विमला तिवारी र प्रतिमा पोखरेलको कविता वाचनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।

त्यसैगरी, नाटकमार्फत महिलामाथि हुने अन्याय, विभेद र हिंसाका विषयलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। नाटकमा विमला तिवारी, समीर कार्की, एन्दिसा पाण्डे, भुवन कार्की, भालक न्यौपाने, सविना कार्की, रिया प्रधान, स्वेता शर्मा, इन्दिरा भट्टराई, सुनैना चौधरी, युजिना तिम्ल्सिना, मुना कार्की, तृष्णा चौधरी, रामचन्द्र मेहेता र रोशन कार्कीले अभिनय गरेका थिए।

कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक विकास थापाले महिला सशक्तीकरण कुनै एक दिन मनाइने औपचारिक कार्यक्रम मात्रै नभई समाज परिवर्तनको निरन्तर अभियान भएको बताए। उनले शिक्षा, नेतृत्व र अवसरमा महिलाको समान पहुँच सुनिश्चित गर्न सके मात्रै समतामूलक र सभ्य समाज निर्माण सम्भव हुने धारणा राखे।

कलेजका अध्यक्ष डाक्टर शम्भु कोइरालाले महिलाको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए। उनले महिलालाई अवसरबाट वञ्चित गरेर समाज समृद्ध बन्न नसक्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा चेतना, संवेदनशीलता र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरे।

प्रमुख अतिथि विजया नेपालले महिलाको सम्मान र अधिकार सुनिश्चित नभएसम्म समृद्ध समाज निर्माण सम्भव नहुने बताइन्। उनले महिलामाथि हुने विभेद, अन्याय र हिंसाविरुद्ध परिवार, शैक्षिक संस्था र समाजका सबै तहबाट सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै महिला सशक्तीकरणलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा व्यक्त विचारहरूले महिला सशक्तीकरण नारामा मात्र सीमित नभई व्यवहार, अवसर र निर्णय प्रक्रियामा पनि सुनिश्चित हुनुपर्ने सन्देश दिएका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक कार्यक्रमले महिला अधिकार, सम्मान र समानताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समाजमा थप सचेतना फैलाउने विश्वास व्यक्त गरिएको थियो।

View : 39

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved