बाल सङ्गठन मोरङमा नयाँ नेतृत्व
विराटनगर — बालबालिकाको हक, अधिकार र प्रतिभा विकासका लागि सक्रिय बाल सङ्गठन मोरङको तदर्थ समितिको नेतृत्व नवीन पहाडीले सम्हालेका छन्। शुक्रबार विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच उनले पदभार ग्रहण गर्दै संगठनको पुनःगठन प्रक्रिया सुरु भएको घोषणा गरे।
पदभार ग्रहण समारोहको अध्यक्षता बाल मन्दिर आधारभुत विधालयका प्रधानाध्यापक नेत्र प्रसाद पराजुलीले गरेका थिए। कार्यक्रममा स्वागत गर्दै उनले संगठनलाई सबै पक्षको साझा प्रयासबाट थप प्रभावकारी बनाउँदै लैजानेमा जोड दिए।
समारोहका प्रमुख अतिथि बलराम गिरीले बालबालिकासँग सम्बन्धित क्षेत्रमा बाल सङ्गठनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘बालबालिकाका अधिकार सुनिश्चित गर्न र उनीहरूको प्रतिभा उजागर गर्न हामी सबै एकजुट भएर लाग्नुपर्छ,’ गिरीले भने, ‘संगठनको हरेक सकारात्मक पहलमा हाम्रो साथ रहनेछ।’
कार्यक्रममा वडा सदस्य सुरज न्यौपाने, विज्ञान शर्मा चापागाईं, लक्ष्मण पोखरेल, सशाङ्क पौडेल, सुलभ बस्नेत र नवराज घिमिरेलगायतको उपस्थिति थियो। वक्ताहरूले संगठनलाई निष्पक्ष र पारदर्शी बनाएर बालबालिकाको पक्षमा सशक्त आवाज उठाउने अपेक्षा व्यक्त गरे।
नवीन पहाडीले तीन महिनाभित्र लोकतान्त्रिक प्रक्रिया अनुरूप निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा गरे। ‘हामीले सुरु गरेको यो प्रक्रिया संगठनको पुनर्जीवनका लागि हो। आगामी तीन महिनामा सबैको सहभागितामा निर्वाचन सम्पन्न गरेर संगठनलाई अझै मजबुत बनाउने छौं,’ उनले भने।
पदभार ग्रहणपछि पहाडीले आफ्नो अधिकार प्रयोग गर्दै नवीन निरौला र स्वाती शर्मालाई तदर्थ समितिका सदस्यमा नियुक्त गरे। उनले नयाँ टोलीसँग मिलेर बालबालिकाको मुद्दामा परिणाममुखी काम गर्ने आश्वासन दिए।
बाल सङ्गठन मोरङ लामो समयदेखि जिल्लामा बालबालिकाको अधिकार संरक्षण, उनीहरूको क्षमता विकास, बालश्रम अन्त्य र बालमैत्री समाज निर्माणमा विभिन्न कार्यक्रम गर्दै आएको छ। नयाँ नेतृत्वले संगठनको पुरानो गरिमा फर्काउने अपेक्षा गरिएको छ।
View : 553
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved