Biratnagar, Morang, Nepal
स्थानीय तह

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरको सम्मान

-
अखवारका कुरा
२६ असार २०८२, शुक्रवार

Advertisement

विराटनगर — माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ मा ४ जीपीए हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले शुक्रबार सम्मान गरेको छ।

महानगरले आयोजना गरेको कार्यक्रममा सामुदायिक र संस्थागत गरी ७ विद्यालयका १६ जना विद्यार्थी र उनीहरूको विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सम्मान गरिएको हो।

४ जीपीए ल्याउने विद्यार्थीमा विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई, श्रेया शर्मा, एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरकी आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेल रहेका छन्।

त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने विद्यालयका विकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी र सहायक प्राचार्य टीएन भण्डारी, पोखरियाका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, कान्तिपुरका भेषराज नेपाल र जेम्सका पंकज खड्कालाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराईलगायतले सम्मान गरेका थिए।

महानगरका अनुसार यसपालि मोरङभर १८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। महानगर क्षेत्रका ९७ विद्यालयबाट ४ हजार ५२९ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये ३ हजार ६९० जना (८१.४७ प्रतिशत) उत्तीर्ण भएका छन् भने ८३९ जना ननग्रेडिङमा परेका छन्।

महानगरका २८ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने २ विद्यालय शून्य नतिजामा सीमित भएका छन्। कार्यक्रममा शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले विद्यालयहरूको विवरण प्रस्तुत गरेका थिए।

महानगरले विगत ३ वर्षदेखि एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ। विराटनगरका सामुदायिक, संस्थागत र धार्मिक गरी १९७ विद्यालयमा करिब ८० हजार विद्यार्थी अध्ययनरत छन्।

View : 188

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved