एमालेमा अब के होला ?
काठमाडौँ , श्रावण ४
नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा करिब डेढ घण्टा गोप्य वार्ता भएको छ।
लामो समयदेखि चिसिएको सम्बन्धपछि भएको यो भेटलाई दुबै पक्षले सावधानीपूर्वक औपचारिकता जस्तो मात्र प्रस्तुत गरे पनि यसको अर्थलाई लिएर राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएको छ।
राष्ट्रपतिबाट अवकाश लिएपछि पहिलो पटक एमाले मुख्यालय पुगेकी भण्डारीले ओलीसँग भेटपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिदै भनिन - “राष्ट्रिय राजनीतिका विषयमा मात्र कुरा भयो, बाँकी कुरा आधिकारिक रूपमा थाहा पाउनुहुनेछ।” तर स्रोतहरूका अनुसार भेटमा भण्डारीको पार्टीभित्रको भूमिका र ओलीसँगको सम्बन्धको पुनः परिभाषा गर्ने विषयमा समेत कुरा भएको थियो।
राष्ट्रपतिका रूपमा रहँदा ओलीको निकट सहयोगीझैँ देखिएकी भण्डारी पछिल्लो समय भने ओलीसँगको सम्बन्ध चिसिएको मानिन्छ। पार्टीभित्र उनको आगमनलाई कतिपयले ओलीविरुद्ध शक्ति सन्तुलन बनाउन खोजिएको चालका रूपमा पनि हेरेका छन्। उनको सहभागिता, र संगठनमा सक्रियता पनि ओलीलाई सहज लागिरहेको छैन भन्ने टिप्पणीहरू सुनिन थालेका छन ।
आजको भेटलाई कतिपयले दूरी घटाउने कोशिसका रूपमा व्याख्या गरे पनि धेरैका लागि यो शक्ति परीक्षणको अर्को अध्यायजस्तै देखिएको छ। एमालेको आगामी महाधिवेशन र नेतृत्व प्रतिस्पर्धाका सन्दर्भमा ओली र भण्डारीबीचको सम्बन्ध कुन मोडमा जान्छ भन्ने चासो आम जनमानसमा रहेको देखिन्छ ।
View : 152
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved