Biratnagar, Morang, Nepal
सामाजिक सेवा

१०४ पिन्ट रगत संकलन गर्दै लायन्स क्लब अफ विराटनगर गुराँस र तिरूमाला बचत तथा ऋण सहकारीले देखाए सामाजिक उत्तरदायित्व

-
अखवारका कुरा
१९ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर :  पछिल्लो समय विराटनगर तथा आसपासका अस्पतालहरूमा रगतको अभाव देखिँदै आएको अवस्थामा लायन्स क्लब अफ विराटनगर गुराँसतिरूमाला बचत तथा ऋण सहकारी संस्था लिमिटेड को संयुक्त आयोजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत संकलन गरिएको छ।

आयोजकका अनुसार आकस्मिक शल्यक्रिया, प्रसूति सेवा, दुर्घटना, क्यान्सर तथा अन्य गम्भीर रोगका बिरामीहरूका लागि आवश्यक रगतको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। समुदायको उल्लेखनीय सहभागितासहित सम्पन्न यस अभियानले एक व्यक्तिको सानो निर्णयले धेरैको जीवन बचाउन सक्ने महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ सी का डिस्ट्रिक्ट गभर्नर लायन लिला चिमरिया ले रगत अभावको समस्या समाधानका लागि नियमित रक्तदान संस्कृतिको विकास अपरिहार्य रहेको बताए। उनले स्वस्थ व्यक्तिले निश्चित अन्तरालमा रक्तदान गर्दा बिरामीको जीवन रक्षा हुनुका साथै समाजमा मानवीय सहकार्य र सेवाभाव पनि सुदृढ हुने धारणा व्यक्त गरे।

कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल ले ५५ औँ पटक रक्तदान गर्दै आफ्नो निरन्तर योगदान प्रस्तुत गरेका थिए। उनको दीर्घकालीन रक्तदान यात्रालाई उपस्थितहरूले प्रेरणादायी उदाहरणका रूपमा प्रशंसा गरेका थिए।

कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल ले ५५ औँ पटक रक्तदान गर्दै आफ्नो निरन्तर योगदान प्रस्तुत गरेका थिए। उनले रक्तदान गर्नुको कारणबारे जानकारी दिदै भने, “रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले म निरन्तर रक्तदान गर्दै आएको हुँ। यो मेरो सामाजिक दायित्व हो।” उनको दीर्घकालीन रक्तदान यात्रालाई उपस्थितहरूले प्रेरणादायी उदाहरणका रूपमा प्रशंसा गरेका थिए।

लायन्स क्लब अफ विराटनगर गुराँसका अध्यक्ष गोपाल प्रसाईं ले विराटनगरमा रगत अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। “रक्तदान केवल रगत प्रदान गर्नु मात्र होइन, कसैलाई नयाँ जीवन प्रदान गर्ने मानवीय कार्य हो,” उनले भने, “हरेक स्वस्थ नागरिकले वर्षमा कम्तीमा एकपटक रक्तदान गर्ने बानी बसाल्न सके रगत अभावको समस्या उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ।”

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकहरूले आगामी दिनमा पनि यस्ता रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार नियमित रक्तदानले बिरामीको जीवन रक्षा गर्नुका साथै समाजमा मानवीय संवेदना र सहकार्यको संस्कृतिलाई समेत सुदृढ बनाउँछ। प्रत्येक स्वस्थ व्यक्तिको सानो योगदानले पनि कसैको अमूल्य जीवन जोगाउन सक्ने भएकाले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।

View : 35

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved