Biratnagar, Morang, Nepal
सामाजिक सेवा

केसलिया किनारमा ‘मिनी जंगल’ अभियान, १ हजार ६ सय बिरुवाबाट नदी संरक्षणको नयाँ सुरुवात

-
अखवारका कुरा
१९ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । नदी संरक्षण र हरित क्षेत्र विस्तारलाई जोड्दै विराटनगरमा ‘मिनी जंगल’ निर्माण अभियान सुरु भएको छ। बढ्दो शहरीकरण, जलवायु परिवर्तन र नदी कटानको चुनौतीबीच हरियो पाइला विराटनगर (गो ग्रीन विराटनगर) ले सब डिभिजन वन कार्यालय, विराटनगरको सहकार्यमा केसलिया खोला किनारमा १ हजार ६ सय बिरुवा रोप्ने महत्वाकांक्षी अभियान सुरु गरेको हो।
विराटनगर महानगरपालिका–४ र ५ अन्तर्गत करिब दुई बिघाभन्दा बढी उकास (ऐलानी) जग्गालाई हरियालीयुक्त सार्वजनिक पर्यावरणीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको हो। आयोजकका अनुसार यो सामान्य वृक्षारोपण कार्यक्रम होइन, नदी संरक्षण, जैविक विविधता प्रवर्द्धन र भावी पुस्ताका लागि हरित सम्पदा निर्माण गर्ने दीर्घकालीन परियोजना हो।
अभियानको शुभारम्भ कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भिम पराजुली, गौशंकर महादेव मन्दिरका पुजारी तथा हरियो पाइला विराटनगरका अध्यक्ष एवं अष्टचिरञ्जीवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिनायक पन्त तथा वन पैदावार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम घिमिरेले संयुक्त रूपमा रुद्राक्षको बिरुवा रोपेर गरेका थिए।
संस्थाका अनुसार केसलिया खोला वर्षेनी हुने कटानका कारण आसपासका सार्वजनिक जग्गा जोखिममा पर्दै आएको छ। त्यसलाई प्राकृतिक रूपमा नियन्त्रण गर्न गहिरो जरा फैलाउने रैथाने प्रजातिका बिरुवा रोपिनेछन्। यस्ता बिरुवाले माटो बाँध्ने, भूक्षय रोक्ने, नदी किनारलाई बलियो बनाउने र बाढीबाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
पहिलो चरणमा काँस, बाँस, सिसौ, खयर, अर्जुन, साज, सिमल, बर, पिपल, रुद्राक्ष, तित्री, जुलेबी, ताड, खजुर, नीम, बकाइनो, जामुन, बेल, कदम्ब, हर्रो, बर्रोलगायत वातावरणीय दृष्टिले महत्वपूर्ण रैथाने प्रजातिका बिरुवा रोपिनेछन्। मन्दिर परिसर तथा उपयुक्त स्थानमा आँप, लिची, कटहर, अमरुद र कागतीका बिरुवासमेत लगाइने कार्यक्रम रहेको छ।
अभियान सफल भएमा केसलिया किनारलाई भविष्यमा नदी संरक्षण क्षेत्र, मिनी जंगल, शहरी हरित पार्क, धार्मिक पर्यटन केन्द्र, पैदलमार्ग, साइकल ट्र्याक, पक्षी अवलोकन स्थल तथा खुला वातावरणीय अध्ययन केन्द्रका रूपमा विकास गर्ने योजना संस्थाले सार्वजनिक गरेको छ।
संस्थाले बिरुवा रोपेर अभियान टुंग्याउने होइन, नियमित सिँचाइ, घेराबार, मलजल र संरक्षणमार्फत ती बिरुवालाई हुर्काएर प्राकृतिक वनको स्वरूप दिने प्रतिबद्धता जनाएको छ। स्थानीय समुदाय, युवा, विद्यार्थी, सामाजिक संघसंस्था र सरकारी निकायको सहकार्यमा यसलाई विराटनगरकै नमुना वातावरणीय संरक्षण परियोजनाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
हरियो पाइला विराटनगरका सचिव देवचन्द्र घिमिरेका अनुसार पहिलो चरणमा यही साताभित्र विराटनगर–४ र ५ मा दुई बिघाभन्दा बढी क्षेत्रफलमा १ हजार ६ सय बिरुवा रोपिनेछन्। त्यसपछि क्रमिक रूपमा विराटनगरका प्रमुख दुई नदी केसलिया र सिंघियाका उकास (ऐलानी) जग्गा पहिचान गर्दै संरक्षण र हरितीकरण अभियानलाई निरन्तर विस्तार गरिनेछ।
"नदीलाई केवल तटबन्धले मात्र होइन, प्रकृतिले पनि जोगाउँछ। बलियो जरा भएका रैथाने वनस्पतिले नदी समात्छन्, माटो जोगाउँछन् र भावी पुस्ताका लागि हरियालीको अमूल्य सम्पदा छाड्छन्," घिमिरेले भने।

View : 90

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved