धनकुटा - कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय मान बहादुर लिम्बूले मनोसामाजिक परामर्शकर्ताहरूका लागि ६ महिने मोडुलर तालिम कार्यक्रमको उद्घाटन गरेका छन्। स्वास्थ्य तालिम केन्द्र, धनकुटाले आयोजना गरेको तालिमको तेस्रो चरण १० दिनसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रममा तालिम केन्द्रका निर्देशक गजेन्द्र यादवको अध्यक्षता रहेको थियो भने प्रशिक्षकका रूपमा फडिन्द्र अधिकारी रहेका छन्। तालिममा १९ जना मनोसामाजिक परामर्शकर्ताको सहभागिता छ।
उद्घाटन मन्तव्यका क्रममा मन्त्री लिम्बूले मानसिक स्वास्थ्य आजको महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौती भएको उल्लेख गर्दै समुदायस्तरमै मनोसामाजिक सेवा विस्तार गर्न यस्ता तालिम प्रभावकारी हुने बताए। बदलिँदो सामाजिक परिवेश, आर्थिक दबाब, पारिवारिक समस्या, बेरोजगारी र विभिन्न सामाजिक कारणले मानसिक तथा मनोसामाजिक समस्या बढिरहेको सन्दर्भमा दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले आत्महत्या रोकथाम, लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति, किशोरकिशोरी, ज्येष्ठ नागरिक, विपद् प्रभावित समुदाय तथा मानसिक तनावमा रहेका नागरिकलाई सहयोग पुर्याउन मनोसामाजिक परामर्शकर्ताको भूमिका महत्वपूर्ण रहने बताए। साथै मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक विभेद र गलत धारणा कम गर्दै सकारात्मक सन्देश फैलाउन पनि तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।
प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको सुदृढीकरण, सेवा विस्तार र दक्ष जनशक्ति विकासलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता मन्त्री लिम्बूले व्यक्त गरे।
View : 52
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved