रौतहट । रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।
जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।
गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।
‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्ध स्रोत र साधनको प्रयोग गरी उपचार गरिरहेका छौँ,’ झाले भने । केही गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले रेबिजविरुद्धको खोप र आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध रहेको र चिकित्सकहरूले घाइतेहरूको निरन्तर निगरानी गरिरहेको स्पष्ट पारेको छ ।
कुकुरको आक्रमण बढेपछि रौतहटका यी क्षेत्रहरूमा त्रास फैलिएको छ । छाडा कुकुरको डरले गर्दा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयको गुनासो छ । बिहान–बेलुकाको समयमा आवतजावत गर्न अत्यन्तै जोखिमपूर्ण बनेको भन्दै स्थानीयले छाडा कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
View : 114
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved