पथरी शनिश्चरे – मोरङको पथरी शनिश्चरे नगरपालिकामा बहुप्रतीक्षित प्रशासनिक भवनको शिलान्यास गरिएको छ। वडा नं. १० स्थित शिविर डाँडामा सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेले शिलान्यास गर्दै भवन निर्माण कार्यको औपचारिक सुरुवात गर्नुभएको हो।
नगरपालिकाको भोगाधिकारमा ल्याइएको १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने पाँच तले यो भवनको कुल लागत २० करोड ३ लाख २३ हजार रुपैयाँ अनुमान गरिएको छ। पथरी शनिश्चरेका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार बैशाख ४ गते निर्माण व्यवसायीसँग सम्झौता भई २०८३ चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाले ४ करोड ७० लाख रुपैयाँको बजेट छुट्याएको छ भने नेपाल सरकारले भवन निर्माणका लागि १२ करोडको आधा रकम उपलब्ध गराउने बताइएको छ। बाँकी रकम अन्य स्रोतहरुमार्फत जुटाइने नगर प्रमुख तुम्वापोले बताउनुभयो।
शिलान्यास कार्यक्रममा नगर प्रमुख तुम्वापोले भवन निर्माणका लागि सरकारी जग्गा नगरपालिका नाममा ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, नगरपालिकाको लागि यो भवन ऐतिहासिक हुने र यसले नगरको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा संविधान सभा सदस्य चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर, पूर्व शनिश्चरे गाविस अध्यक्ष मोहन न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापति कुलबहादुर गुरुङ लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वर्तमान र पूर्व वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु र नगरका विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो।
View : 48
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved