Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लियोदेखि लायन्सको नेतृत्वमा चाँद बाबु इराकी

-
अखवारका कुरा
२५ भदौ २०८३, बिहिवार

Advertisement

 

विराटनगर — लियोबाट सामाजिक सेवाको यात्रा सुरु गरेका चाँद बाबु इराकी नेपालकै पहिलो लायन्स क्लबको नेतृत्वमा पुगेका छन् । उनी वर्ष २०२६/२७ का लागि लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा पदस्थापित भएका हुन् ।

विराटनगरस्थित मनास्लु इनमा बुधबार आयोजित इन्डक्सन तथा पदस्थापना समारोहमा लायन्स क्लब इन्टरनेसनल जिल्ला ३२५ ‘सी’ का जिल्ला गभर्नर लायन लीला प्रसाद चिमरिया पीएमजेएफले इराकीसहित नयाँ कार्यसमितिलाई पदस्थापन गराए । सोही अवसरमा लियो क्लब अफ विराटनगरको अध्यक्षमा लियो सञ्जु गोइत पदस्थापित भइन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष लायन मनोज मण्डाबाट इराकीलाई नेतृत्व हस्तान्तरण गरिएको थियो । लियो क्लबमा पनि निवर्तमान नेतृत्वले नयाँ अध्यक्ष गोइतलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

लियो जिल्ला परिषद् ३२५ ए वानको अध्यक्ष तथा लियो मल्टिपल ३२५ को अध्यक्ष भइसकेका इराकी लामो समयदेखि सामाजिक अभियानमा सक्रिय छन् । लियोमार्फत सुरु भएको उनको सेवा यात्रा विभिन्न तहको नेतृत्व हुँदै नेपालकै पहिलो लायन्स क्लबको अध्यक्षसम्म पुगेको हो ।

अध्यक्ष इराकीले आफ्नो कार्यकालमा ‘सन्तुलित सेवा, सुदृढ सदस्यता र दीर्घकालीन प्रभाव’लाई प्राथमिकतामा राखेर काम गर्ने बताए । क्लबको गौरवशाली इतिहासलाई निरन्तरता दिँदै समुदायमा प्रत्यक्ष प्रभाव पार्ने सेवा कार्यक्रमलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ ।

नयाँ नेतृत्वले सदस्यता विस्तार, युवाको सहभागिता र दीर्घकालीन सामाजिक प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । समारोहमा लायन्स तथा लियोका वर्तमान तथा पूर्व नेतृत्व, पदाधिकारी, सदस्य र शुभेच्छुकको सहभागिता थियो ।

View : 39

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved