Biratnagar, Morang, Nepal
अन्तर्वार्ता

नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.प्रकाश शरण महत

-
अखवारका कुरा
२७ माघ २०८२, मङ्गलवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको प्रतिक्रिया दिएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कांग्रेसका उम्मेदवार र कार्यकर्ताहरु जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा उपलब्ध हुने पनि बताए ।
वैकल्पिक भनिएका दलहरुको शिर र पुच्छर नभएकाले कांग्रेससँग तुलना नहुने उनको भनाइ छ । ‘वैकल्पिक भनिएका शक्तिहरुको शिर र पुच्छरको अत्तोपत्तो छैन । कहाँबाट आउँछन, कहाँ हराउँछन् पत्तो छैन । सामाजिक संजालको प्रभावले उहाँहरु आइरहनु भएको छ । हामीसँग संगठन छ, इतिहास छ । लामो समयदेखि जनतासँग जोडिरहेका छौं । दिगो रुपमा काम गरिरहेका छौं र अस्तित्वमा छौं । ७५ बर्षको इतिहासमा धेरै चुनौतिहरुको सामना गरेका छौं, उतारचढाव व्यहोरेका छौं । त्यही कारणले कांग्रेस टिकेको छ । नयाँ हुँदैमा राम्रो हुने होइन । तर हामी सुखदुख र अफ्ठयारो अवस्थामा साथमा छौं त्यसैले हामी यस पटक पनि थप बलियो रुपमा स्थापित हुनेछौं,’ उनले भने ।
नुवाकोटको सन्दर्भमा आफू उर्जामन्त्री वा अर्थमन्त्री हुँदा साथै विभिन्न चरणमा काम गरेर देखाइसकेकाले यस पटक पनि मतदाताले रोज्ने बताए । ‘म प्रत्यक्ष निर्वाचन नलडे पनि धेरै काम गरेको छु । परिपक्व, इमान्दार र काम गर्नसक्ने व्यक्तिको पहिचान बनाइसकेको छु । त्यसैले मतदाताले मलाई रोज्नेछन्,’ उनले अगाडि भने,‘गारोसारो र अफ्ठयारो अवस्थामा पनि डा.महतले काम गर्छ भन्नेमा नुवाकोटवासी विश्वस्त छन् ।’
नुवाकोटको विकासमा वितेको १० बर्ष कांग्रेसको प्रतिनिधित्व नभएकाले काम नभएको बताउँदै उनले आफूले १० बर्षको क्षतिपूर्ति दिनेगरी आफ्नै अगुवाइमा विकासका लागि करिब सात अर्ब जति विनियोजन गराएको जानकारी दिए ।
‘यतिबेला आश्वासन दिन सजिलो छ । कुलो र कुरो जता लगे त्यतै मोडिन्छ । यसबारे मतदाता सचेत छन् । हाम्रै अगुवाइमा नुवाकोटमा धेरै काम भएको छ । १० बर्ष हाम्रो प्रतिनिधित्व नहुँदा कामै भएन । तर त्यसको क्षतिपूर्ति कांग्रेसले दिलाउने प्रयासमा छ । सडक पूर्वाधारका क्रममा ककनीको बाटो हालत थियो, धुलो र हिलोबाट सबैलाई हैरानी दिएको थियो । त्यो बाटोमा एक अर्ब २० करोड विनियोजन गरेर धेरै काम भएको छ, गगंटेबाट गोल्फू भन्ज्याङ जाने बाटोमा एक अर्ब ३३ करोड सुनिश्चित मैंले नै गरेकाले ठेक्का लागेर काम अघि बढिसकेको छ । त्यो बाटोले दुवै क्षेत्र एवम सिन्धुपाल्चोकसँग जोड्ने र काठमाडौंसँगको दूरी छोटो बनाउनेछ । कृषि, पर्यटन र व्यवसायमा सहज हुनेछ । छहरे–टोखा बाटो जिर्ण थियो, त्यसका लागि म अर्थमन्त्री भएका बेला आठदश करोड विनियोजन गरेर तत्कालै काम अघि बढाएर हाल धेरै सहज भएको छ । ओखरपौवादेखिको बाटोमा पनि ११ करोड विनियोजन गरेर सहज बनाएको छु,’ उनले दावाकासाथ भने ।
आफ्नै पहलमा तीनमुखे झोलुङ्गे पुलको काम अघि बढाएको साथै पन्चकन्याकै छहरेदेखि घलेगाउँसम्म जाने बाटोमा १५ करोड लगानी गरेकाले धेरै सहज बनाएको छ । त्यस्तै चौघडाको वाहुनबेसीसम्म जाने पुल निर्माणले आवात जावतमा सहज भएको उनले बताए । त्यस्तै सिंचाइ क्षेत्रमा ठूलो लगानी भित्र्याएकाले कृषकहरुलाई धेरै सहज भएको उनले बताए ।
डा.महतले आफ्नै पहलमा आयात हुने कृषिजन्य वस्तुमा भन्सार विन्दुमा कडाइ गरेर नेपाली कृषकलाई सहज बनाएको पनि बताए । तर त्यो व्यवस्था हालको सरकारले हटाएकाले कृषक र व्यवसायी मारमा परेको बताए ।
प्रदेश र केन्द्रबाट दर्जनौं योजनाहरु जिल्ला भित्र्याएकाले नुवाकोटबासीलाई सहज भएको बताउँदै उनले सुरुङ मार्गमा एक अर्ब विनियोजन गर्दा जिल्लाबासीमा खुशीयाली छाएको उनको भनाइ छ । यस्ता ठूला योजनाहरु नुवाकोटमा लक्षित गर्दै भित्र्याएकाले जग्गाको मूल्य बढेको, पर्यटन क्षेत्र फस्टाएको साथै अन्य क्षेत्रलाई फाइदा भएको बताए ।
नेपाली कांग्रेससँग प्रतिस्पर्धा वैकल्पिक भन्दा पनि पूरानै दलहरुसँग हुने बताउँदै उनले आफू नुवाकोट २ मा बलियो उम्मेदवार भएको र विजयी निश्चित भएको दाबी गरे । ‘मतदाताहरुले काम गर्ने नेता खोजेका छन् । मैले पनि पार्टी होइन काम रोजौं भनेको छु । नुवाकोटबासी काम रोज्न तयार छन,’ उनले भने ।
नेपाली कांग्रेस एकढिक्का भएकाले यस पटक पार्टीका उम्मेदवारहरुलाई पनि सहज भएको डा.महतको भनाइ छ । ‘हाम्रो आन्तरिक जीवनमा उतारचढावहरु आइरहन्छन् । अनेकौं घटनाहरु घटिरहन्छन, त्यसलाई महत्व दिन जरुरी पनि छैन । विपक्षीसँग प्रतिपर्धा हुँदैछ, देश तरल अवस्थामा छ, मानसिकता खलबलिएकाले त्यसलाई स्थिरता दिनुपर्ने बाध्यता हामीमा छ । यस्ता अनेक संकटको समाधान कांग्रेसले नै गर्छ,’ उनले भने ।
स्थिरता, लोकतन्त्र र विधिको शासनका लागि साथै राष्ट्रियता कमजोर हुनबाट जोगाउन कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ । ‘स्थिरता, विधिको शासनका लागि, लोकतन्त्रका लागि, राष्ट्रियतालाई कमजोर बनाउनेहरु विरुद्ध कांग्रेसलाई मतदान गर्न आग्रह गर्दछु । नुवाकोटका सन्दर्भमा पनि म काम गर्ने व्यक्ति भएकाले कुरा भन्दा काम गर्नेलाई भोट दिन आग्रह गर्दछु,’ उनले आग्रह गरे ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved