रामेछाप । वर्षौंदेखि उपचार र पुनस्र्थापना सेवाको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आशाको किरण बनेको छ ।
आर्थिक अभाव, दुर्गम भौगोलिक अवस्था तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच नहुँदा घरमै सीमित जीवन बिताउन बाध्य नागरिकहरूले आफ्नै गाउँमा स्वास्थ्य परीक्षण, परामर्श तथा पुनस्र्थापना सेवा पाएपछि राहत महसुस गरेका छन् ।
उमाकुण्ड गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, विकलाङ्ग मित्र समूह तथा बनेपास्थित अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको संयुक्त आयोजनामा सञ्चालित शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्र्थापना घुम्ती शिविरले दुर्गम बस्तीका सयौं नागरिकलाई सेवा प्रदान गरेको हो ।
जिल्लाको दुर्गम क्षेत्र मानिने उमाकुण्ड गाउँपालिकाको बाम्ती स्वास्थ्य चौकी र च्यादलुस्थित प्रीति आधारभूत अस्पतालमा सञ्चालन गरिएको शिविरमा उपचारका लागि लामो समयदेखि प्रतीक्षारत नागरिकहरू लाभान्वित भएका छन् । धेरैजना यस्ता सेवाग्राही थिए, जो आर्थिक तथा भौगोलिक कठिनाइका कारण अस्पतालसम्म पुग्न नसकेर वर्षौंदेखि पीडा सहन बाध्य थिए ।
बाम्ती स्वास्थ्य चौकीमा आयोजित शिविरमा १०१ जनाले सेवा लिएका थिए । उनीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा पुनस्र्थापना सम्बन्धी मूल्याङ्कन गरिएको थियो । थप उपचार आवश्यक देखिएका तीन जनालाई विशेषज्ञ उपचारका लागि रिफर गरिएको छ । उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । साथै, तीन जनालाई आवश्यक सहायक सामग्री पनि वितरण गरिएको थियो ।
त्यसैगरी, च्यादलुस्थित प्रीति आधारभूत अस्पतालमा सञ्चालन गरिएको शिविरमा ८३ जनाले सेवा लिएका छन् । स्वास्थ्य परीक्षणपछि थप उपचार आवश्यक देखिएका छ जनालाई रिफर गरिएको छ भने ११ जनालाई सहायक सामग्री उपलब्ध गराइएको छ ।
शिविरमा सहभागीहरूका लागि यो कार्यक्रम केवल स्वास्थ्य परीक्षणमा सीमित नभई जीवनमा नयाँ आशा र आत्मविश्वास जगाउने अवसर बनेको थियो । कतिपयले पहिलोपटक विशेषज्ञ स्वास्थ्यकर्मीको परामर्श प्राप्त गरेका थिए भने कतिपयले आफ्ना दीर्घकालीन समस्याको समाधान सम्भव रहेको अनुभव गरेका थिए ।
उमाकुण्ड गाउँपालिका–२ बाम्तीका वडाध्यक्ष खम्बध्वज बस्नेतले दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार गाउँमा स्वास्थ्य संस्थाका भवन भए पनि विशेषज्ञ चिकित्सकको अभाव रहेको र आर्थिक रूपमा कमजोर नागरिकलाई जिल्ला सदरमुकाम वा काठमाडौं पुगेर उपचार गराउन कठिन हुने भएकाले सेवा गाउँमै पु¥याउने प्रयास गरिएको हो ।
उनले गाउँपालिकाले विभिन्न सेवा प्रदायक संस्था तथा सामाजिक संघसंस्थासँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको जानकारी दिए । दुर्गम बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला गाउँमै पुगेर सेवा दिने यस्तो अभियानले उपचारसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ ।
View : 52
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved