विराटनगर । ‘Developing Leaders for a Changing World’ भन्ने मूल नाराका साथ विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्न लागेको छ। नोभेम्बर २ देखि नोभेम्बर ७ (कात्तिक १६ देखि २१) सम्म एक सातासम्म चल्ने यस अभियानअन्तर्गत विराटनगरका विभिन्न स्थानमा अर्थपूर्ण र प्रभावकारी गतिविधिहरू सञ्चालन गरिने कार्यक्रम छ।
कार्यक्रमको शुभारम्भ नोभेम्बर २ (आइतबार) बिहान ७:३० बजे JNL Futsal, विराटनगरमा ‘उद्घाटन समारोह तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता’बाट हुने भएको छ। उक्त उद्घाटन कार्यक्रमको संयोजन जेसी सनराइज चौधरीले गर्ने छन्।
यसपछिका दिनहरूमा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन हुनेछन्। नोभेम्बर ३ (सोमबार) का दिन जेसीज बाल सदन माध्यमिक विद्यालयमा दन्त परीक्षण कार्यक्रम (संयोजक – जेसी बिनु बान्तवा राई) र बाल सुधार गृह, विराटनगरमा मायाको कोसेली वितरण (संयोजक – जेसी पंकज मेहता) गरिनेछ।
नोभेम्बर ४ (मंगलबार) बिराट बहिरा माध्यमिक विद्यालयमा ‘ART Beyond Word’ कला कार्यक्रम (संयोजक – जेसी आकृति फुयाल) आयोजना हुनेछ।
नोभेम्बर ५ (बुधबार) नोबेल अस्पताल, विराटनगरमा सडकमा सुरक्षित यात्रा सम्बन्धी जनचेतना कार्यक्रमसहित रिफ्लेक्स लाइट वितरण गरिनेछ, जसको संयोजन जेसी बिशाल राजवंशीले गर्नेछन्।
नोभेम्बर ६ (बिहीबार) विराटनगर जेसीज सचिवालयमा कौसी खेती तालिम कार्यक्रम (संयोजक – जेसी रोशनी प्रधान) आयोजना हुनेछ।
सप्ताहको समापन नोभेम्बर ७ (शुक्रबार) होटल स्वागतम, विराटनगरमा आयोजना हुने ‘समापन तथा सम्मान कार्यक्रम’ बाट गरिनेछ। उक्त कार्यक्रममा समाजमा योगदान पुर्याएका दुई युवालाई सम्मान गरिनेछ। समापन कार्यक्रमको संयोजन जेसी आर.के. मण्डलले गर्नेछन्।
विराटनगर जेसीजका अध्यक्ष जेसी प्रीतेशराज दाहालले जेसीज वीकमार्फत युवाहरूलाई नेतृत्व, सामाजिक जिम्मेवारी र सेवा भावना सिकाउने उद्देश्य रहेको बताए। उनका अनुसार, “हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउने साना तर प्रभावकारी कदमहरू लिँदै आएका छौँ, यस वर्षको जेसीज वीक पनि त्यसैको निरन्तरता हो।”
मुख्य कार्यक्रम संयोजक तथा विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसी कविराज दाहालले सबै कार्यक्रमहरू तयारीपूर्वक सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार, “एक साताभरि विभिन्न क्षेत्रमा केन्द्रित कार्यक्रमहरू मार्फत जेसीजको सामाजिक प्रतिबद्धता र सामुदायिक सहकार्यको सन्देश फैलाउने हाम्रो उद्देश्य हो।”
View : 909
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved