काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् ।
मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् ।
भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन गएको बताए । जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए ।
‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ । म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु ’उनले भने ।
उनले जेनजी आन्दोलनका सहीद र प्रतिनिधिहरुले भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि गरेको आन्दोलनको अझै अपूरो रहेको धारणा राखे । जेनजी आन्दोलनको अपूरो क्रान्तिलाई अब रास्वपाको सरकारले पूरा गर्ने उनको दाबी छ ।
उनले भने,‘जेनजी आन्दोलनका सहीद र जेनजी प्रतिनिधिहरुले जुन रुपमा आन्दोलन गरे त्यो भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि थियो । देशमै भविष्य सुनिश्चित होस् भन्ने चाहना थियो । त्यो चाहना अझै अधुरो छ । त्यो अधुरो क्रान्तिलाई पूरा गर्न जनताले देशभरबाट मतपत्रमार्फत रास्वपालाई दुई तिहाईको बहुमत दिनुभएको छ । अब परिवर्तनको बाटोमा मुलुक जान्छ भन्ने उहाँहरुको विश्वास छ ।’
View : 37
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved