काठमाडौं — सरकारी अस्पतालमा शैय्या अभावका कारण एकै बेडमा दुई-दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने भएको छ। त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले आइतबारदेखि १५ शैय्या क्षमताको नयाँ इमर्जेन्सी ग्रीन एरिया सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो वार्डसहित अत्याधुनिक थ्री टेस्ला एमआरआई सेवा पनि उद्घाटन गरे। मन्त्रालयको २० करोड रुपैयाँ सहयोगमा एमआरआई मेसिन जडान गरिएको हो।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले सरकारी अस्पतालप्रति जनविश्वास बढ्दै गएको बताए। “अस्पतालमा थपिएका सेवा–सुविधाले धेरै नागरिकलाई सुपथ र सहज उपचार मिल्नेछ,” उनले भने, “टिचिङको सेवा अझ आधुनिक र क्षमतावान बनाउन मेरो साथ रहनेछ।”
अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले अब बिरामीलाई महँगो शुल्क तिरेर बाहिरको केन्द्रमा जानुपर्ने आवश्यकता नरहेको बताए। “मन्त्रालयको सहयोगले अत्याधुनिक एमआरआई ल्याउन सकेका छौं, यसले धेरै बिरामीलाई राहत मिल्नेछ,” उनले भने।
अस्पतालमा बिरामीको चाप अत्यधिक हुँदा अघिसम्म ८ शैय्यामा मात्रै आपत्कालीन सेवा दिइँदै आएको थियो। शैय्या कम परेकाले एकै बेडमा दुई-दुई जना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था थियो। ग्रीन एरियामा अब १५ शैय्या पुगेपछि यस्तो समस्या केही घट्ने आशा गरिएको छ।
कम गम्भीर अवस्थामा रहेका बिरामी राखिने एल्लो एरियाको क्षमता पनि बढाएर २० शैय्या पुर्याइएको छ। नयाँ संरचना सञ्चालनमा आएपछि आपत्कालीन उपचार अझ व्यवस्थित र सहज हुने अस्पताल प्रशासनको भनाइ छ।
View : 131
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved