अर्किड कलेजको बिदाइ समारोह
विराटनगर, चैत ३० – विराटनगर–१० मा अवस्थित अर्किड कलेजले कक्षा १२ मा अध्ययनरत १६औं ब्याचका विद्यार्थीहरूलाई एक भव्य तथा भावनात्मक कार्यक्रमका बीच बिदाइ गरेको छ।
होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत करिब ५७० जना विद्यार्थीलाई कलेजले शुभकामना सहित नयाँ यात्राको लागि बिदाइ गरेको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. १० का अध्यक्ष अर्जुन गिरी, कलेज व्यवस्थापन समितिका अध्यक्ष अमित ढकाल, हिसान कोशी प्रदेशका सचिव दिपेश वास्तोला, र कलेज प्रिन्सिपल सिएम श्रेष्ठको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यार्थीहरूलाई प्रेरणादायी शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गरेका थिए।
कलेजले आन्तरिक परीक्षा तथा हिसान परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको थियो। साथै, बिदाइमा शरमिष्ठा लुईटेल र अन्सु बास्तोलाले कलेजमा बिताएका दुई वर्षको अनुभव साझा गर्दै भावुक क्षणहरू सम्झिएका थिए।
विद्यार्थीहरूले नृत्य, गीत तथा सांगीतिक प्रस्तुतिहरू राखी कार्यक्रममा रङ थपेका थिए। वातावरण जोशिलो र उत्साहपूर्ण बनाएको उक्त सांस्कृतिक प्रस्तुतिले सबैलाई रमाइलो बनायो।
त्यसै अवसरमा कलेजमा स्थापनाकालदेखि निरन्तर अध्यापन गरिरहेका वरिष्ठ शिक्षक अजित झा र विष्णु तिवारीलाई लामो समयदेखि गरेको योगदानको कदरस्वरूप नगदसहित सम्मान गरिएको थियो। उनीहरूलाई वडा अध्यक्ष गिरीद्वारा कदरपत्र प्रदान गरिएको थियो।
साथै, कलेजको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेल्ने पूर्वविद्यार्थीहरू र हाल अध्ययनरत राष्ट्रिय स्तरका खेलाडीहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूको मेहनत, समर्पण र उपलब्धिको उच्च मूल्यांकन गर्दै कलेजले कदरपत्रमार्फत सम्मान प्रकट गरेको हो।
यसरी, अर्किड कलेजले आयोजना गरेको यो बिदाइ समारोहले विद्यार्थीहरूको शैक्षिक यात्राको एक अध्यायलाई समापन गर्दै भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढ्न उत्प्रेरित गर्ने अवसरका रूपमा महत्व राखेको छ।
View : 105
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved