Biratnagar, Morang, Nepal
देश

१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन :अटो बजारमा बढ्यो कारोबारको आशा

-
अखवारका कुरा
१ भदौ २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० हजारभन्दा बढी अवलोकनकर्ता आएका छन् । ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूले बताएका छन् ।

एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए । पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौं दिन ४२ हजारभन्दा बढी अवलोकनकर्ता आएका थिए ।

एक्स्पोमा मानिसको उपस्थिति मात्र नभई सवारीसाधन खरिदका लागि भएको इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकको भनाइ छ । अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा अपेक्षाभन्दा धेरै अवलोकनकर्ता आएको र सोहीअनुसार इन्क्वायरी तथा बुकिङ पनि राम्रो भएको बताए ।

 

‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ ।’ अटोमोबाइल व्यवसायीका लागि एक्स्पोमा देखिएको उपभोक्ता चासो बजारको माग बुझ्ने महत्वपूर्ण आधार बनेको उनको भनाइ छ ।

नयाँ उत्पादनले बढायो प्रतिस्पर्धा

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको थियो । नयाँ मोडल र प्रविधि एकै स्थानमा प्रदर्शन भएपछि उपभोक्ताले विभिन्न ब्रान्डका सवारीसाधन तुलना गर्ने अवसर पाएका थिए ।

विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार तथा मोबिलिटी समाधानमा केन्द्रित प्रदर्शनीले नेपालको अटो बजार परम्परागत सवारीसाधनबाट नयाँ प्रविधितर्फ संक्रमण भइरहेको संकेत गरेको छ ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले ठूलो संख्यामा उपभोक्ताको सहभागिता र नयाँ उत्पादनको सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन् । उनका अनुसार एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि ठूलो उत्साह र प्रोत्साहन हो ।

उपभोक्ता चासोले बजारको सम्भावना बढयो

अटोमोबाइल बजारमा बिक्रीको गति, आयात, वित्तीय सुविधा तथा उपभोक्ताको क्रयशक्तिले कारोबार निर्धारण गर्ने भए पनि एक्स्पोमा देखिएको भीडले सवारीसाधनप्रतिको चासो कमजोर नभएको देखाएको व्यवसायीहरूको बुझाइ छ । नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले एक्स्पोमा ठूलो संख्यामा मानिसको आगमन हुनु अटो उद्योगका लागि सुखद संकेत भएको बताए ।

त्यस्तै नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोको समग्र सफलतालाई ‘सुपरहिट’ भएको बताए ।

प्रदर्शनीसँगै बजार अध्ययनको अवसर

नाइमा एक्स्पोमा बिक्री र बुकिङका अतिरिक्त उपभोक्ताको रुचि, मूल्य संवेदनशीलता, नयाँ प्रविधिप्रतिको आकर्षण र ब्रान्ड छनोटको प्रवृत्तिबारे व्यवसायीले प्रत्यक्ष जानकारी लिने अवसर पाएका छन् ।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ज्ञान, सहकार्य र मागकेन्द्रित व्यवस्थापनको प्लेटफर्मका रूपमा विकास गरिएको बताए । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोले अटोमोबाइल व्यवसायलाई नयाँ प्रविधि र बदलिँदो उपभोक्ता मागसँग जोड्ने प्रयास गरेको छ ।

एक्स्पोमा देखिएको उपभोक्ता सहभागिता, नयाँ उत्पादनप्रतिको चासो तथा बुकिङले आगामी दिनमा अटोमोबाइल बजारमा थप प्रतिस्पर्धा र नयाँ लगानीको सम्भावना बढाउने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।

 

View : 21

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved