Biratnagar, Morang, Nepal
प्रदेश

पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्य पद पनि खारेज प्रक्रियामा

-
अखवारका कुरा
२९ माघ २०८२, बिहिवार

Advertisement


सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीले गरेको उक्त कार्वाहीसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पद पनि खारेज हुने प्रक्रिया अघि बढाइएको छ ।
पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार शर्मालाई गरिएको कार्वाहीसम्बन्धी पत्र बुधबार नै कर्णाली प्रदेश सभा सचिवालयमा पठाइएको हो । २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन् ।
प्रमुख सचेतक जिसीले शर्माले जानीजानी पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत कार्य गरेको ठहर गर्दै पार्टी विधान तथा कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ बमोजिम केन्द्रीय समिति लगायत दलका सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यबाट समेत निष्कासन गरिएको जानकारी दिए ।
उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) बमोजिम पार्टी सदस्यबाट निष्कासित व्यक्ति प्रदेश सभा सदस्य रहन नपाउने कानुनी व्यवस्था भएकाले शर्मालाई प्रदेश सभा सदस्य पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई पत्राचार गरिएको हो ।
कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले कार्वाहीसम्बन्धी पत्र दर्ता भइसकेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यस घटनाले कर्णाली प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ ।

View : 44

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved