विराटनगर : चुडाकवि स्मृति प्रतिष्ठानले विद्यार्थीलाई कृषिको महत्त्वसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले मोरङको बुढीगंगा गाउँपालिकामा धान रोपाईं महोत्सव आयोजना गर्दै राष्ट्रिय धान दिवस मनाएको छ।
स्मृति इङ्ग्लिश बोर्डिङ स्कूल र प्यारागन एकेडेमी सेकेन्डरी स्कूलको प्रायोजन तथा स्मृति बाल क्लबको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा करिब पाँच सय विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूले खेतमै धान रोप्दै कृषिको महत्व, श्रमको सम्मान र राष्ट्रिय धान दिवसको सान्दर्भिकताबारे व्यावहारिक अनुभव हासिल गरेका थिए।
प्रतिष्ठानकी रिता न्यौपानेका अनुसार पछिल्लो पुस्तालाई कृषि संस्कृतिसँग जोड्दै धान उत्पादनको महत्वबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विद्यालयको कक्षाकोठामा सीमित ज्ञानलाई व्यवहारसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास उनले व्यक्त गरिन्।
कार्यक्रममा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द्र माझी, प्राध्यापक कविराज न्यौपानेलगायत स्थानीय जनप्रतिनिधि, शिक्षक तथा दुवै विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले असार महिनामा मनाइने राष्ट्रिय धान दिवसले नेपाली कृषि, खाद्य सुरक्षा र मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा कृषिप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
View : 169
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved