Biratnagar, Morang, Nepal
देश

म झोले हो ट्रेन्डीङ बन्दै

‘म झोले हो’ : प्रधानमन्त्री ओलीको पोस्टपछि भाइरल भयो ट्रेन्ड

एमालेले राजावादीहरूसँगको बहसलाई दिइरहेछ नयाँ मोड।
-
अखवारका कुरा
१९ जेठ २०८२, सोमवार

Advertisement

काठमाडौं
सामाजिक सञ्जालमा अहिले एउटा ट्रेन्ड खुबै चलेको छ  “म झोले हो।” नेकपा एमालेले सुरु गरेको यो ट्रेन्ड अहिले पार्टी नेतादेखि सामान्य कार्यकर्ता हुँदै फेसबुक, ट्विटरभरि भाइरल भएको छ।

यात्रा सुरु भयो अध्यक्ष केपी शर्मा ओलीको एउटा पोस्टबाट। ओलीले फेसबुकमा लेखे –
“एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”

यही पोस्टसँगै उनले "झोले" शब्दको अपमानजनक प्रयोगलाई गर्वमा बदले। ट्रेन्ड सुरु भएपछि एमाले नेताहरूको प्रोफाइल "म झोले हो" लेखिएका तस्बिरहरूले भरिन थाले।

किन सुरु भयो यो ट्रेन्ड?

पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आन्दोलनरत समूहहरूले सत्तारूढ कार्यकर्तालाई "झोले" भनेर गाली गर्न थाले। यत्ति हुँदा एमाले चुपचाप बस्नेवाला थिएन। पार्टीले त्यसै अपमानजनक शब्दलाई आफ्नै शैलीमा घुमाएर आत्मसात् गर्‍यो।

ओलीले लेखे,
“सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। भीडसँग बल हुन्छ, तर सत्य नहुन सक्छ।”

प्रधानमन्त्रीको टिमदेखि मन्त्रीसम्म सक्रिय

ओलीको पोस्टपछि प्रधानमन्त्रीका सचिवालय सदस्यहरू, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सांसद महेश बर्तौला, सचेतक सुनीता बराल लगायत नेताहरूले पनि यही ट्रेन्डलाई साथ दिएका छन्। सबैले "म झोले हो" लेखिएको प्रोफाइल तस्वीर पोस्ट गर्दै एकै सन्देश दिइरहेका छन – हामी विचारका झोले हौं, परिवर्तनका लागि लाग्ने झोले हौं।

झोला बोक्नु अपमान होइन, गर्व हो’ : ओली

गत आइतबार नेपाल बुद्धिजीवी परिषद्को महाधिवेशनमा ओलीले खुलेर भने –
“म एमालेको झोले हुँ। यो झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेको छु। म गर्व गर्छु।”

उनले विगतको पार्टी विभाजन, आफूविरुद्धको आक्रमण, झण्डै दुई-तिहाइबाट झराइएको अवस्था र पछिल्लो मोर्चाबन्दीको स्मरण गराउँदै भने,
“हामी फेरि उठ्यौं। आज कोही भित्तामा टाँस्छु भन्छ, तर एमालेलाई कोही सिध्याउन सक्दैन।”

मिशन २०८४मा लागिपरेको एमाले

ओलीको यो ट्रेन्डले पार्टीलाई चुनावी अभियानतिर मोड्ने संकेत पनि दिएको छ। उनले भने –
“हामी मिशन २०८४ मा लागेका छौं। जहाँ छौं, त्यहाँबाट योगदान गरौं।”

अब ‘झोले’ शब्द एमालेका लागि गाली होइन, गौरव बनेको छ। पार्टीले राजनीतिक बहसमा नयाँ कथा लेख्न थालेको छ ।  जहाँ झोला कुनै हतोत्साहित छायाँ होइन, बरु परिवर्तनको प्रतीक जस्तै बन्ने एमाले नेताहरुको दावी छ । 

View : 139

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved