Biratnagar, Morang, Nepal
खेलकुद

स्थापनाको पहिलो वर्षमै विराट स्पोर्ट्स जोनद्वारा अन्तरविद्यालय क्रीकशल प्रतियोगिता, ३२ विद्यालय सहभागी हुने

२६ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर, २६ साउन - स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता देखाएको विराटनगर ३ मा अवस्थित विराट स्पोर्ट्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। पहिलो संस्करणमै प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र उच्चस्तरीय बनाउन आवश्यक तयारी पूरा भएको आयोजकको भनाइ छ। विराट स्पोर्ट्स जोनले छोटो अवधिमै खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्दै विद्यालयस्तरका प्रतियोगिता आयोजना गर्न थालेको हो।

यस प्रतियोगिताको विशेष आकर्षणका रूपमा पहिलोपटक ‘फेयर प्ले अवार्ड’ ट्रफी प्रदान गरिने भएको छ। प्रतियोगिताको बेस्ट प्लेयरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र रु. १,००० बराबरको भौचर प्रदान गरिने छ। त्यस्तै, बेस्ट ब्याट्सम्यानलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति एक हजार बराबरको भौचर  तथा बेस्ट बलरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति र एक हजार बराबरको भौचर प्रदान गरिने तथा सो कार्यक्रमका सहभागीलाई खाजाको समेत व्यवस्था गरिएको सस्थाका प्रोजेक्ट म्यानेजर राज ढकालले जानकारी दिए। 

त्यसैगरी, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र रु. ५०० बराबरको भौचर प्रदान गरिने छ। प्रतियोगिताबाट उत्कृष्ट सम्भावना देखाउने उदयमान खेलाडीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईँले स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा प्रभावकारी काम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए। “विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रशिक्षण र अवसर उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो। क्रीकशल प्रतियोगिता त्यसै अभियानको सुरुवात हो,” उनले भने। आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक स्वरूपमा विस्तार गर्दै विराटनगरलाई खेलकुद गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको पनि बजगाईँले बताए।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन र नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई ३ दिन मात्र संचालन गर्ने उदेश्य भए पनि विराटनगर तथा आसपास क्षेत्रका विधालयको अत्यधिक सहभागिताका कारण समय थप गरि श्रावण २७ देखि श्रावण ३१ गते सम्म ५ दिनको कार्यक्रम आयोजना गरिने उक्त कार्यक्रमका संयोजक करण कार्कीले जानकारी दिए ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved