काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो। यस वर्ष कुल सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्षको परीक्षामा नियमित तथा ग्रेडवृद्धि गरी ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले परीक्षा दिएका हुन्।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो। परीक्षा सम्पन्न भएसँगै उत्तरपुस्तिका परीक्षण, प्राप्तांक इन्ट्री र नतिजा प्रशोधनको काम तीव्र रूपमा अघि बढाइएको बोर्डले जनाएको थियो।
नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूमा उत्साह र जिज्ञासा दुवै देखिएको छ। बोर्डले विद्यार्थीलाई वेबसाइट, एसएमएस तथा आईभीआर प्रणालीमार्फत नतिजा हेर्न सकिने जनाएको छ। अत्यधिक ट्राफिकका कारण केही समय वेबसाइटमा समस्या देखिन सक्ने भन्दै धैर्य गर्न पनि आग्रह गरिएको छ।
यसपटक पनि अक्षरांकन प्रणालीअनुसार नतिजा प्रकाशन गरिएको छ। विद्यार्थीले प्राप्त गरेको ग्रेडका आधारमा अब कक्षा ११ अध्ययनका लागि विषय र शिक्षण संस्था छनोट गर्नेछन्। नतिजासँगै देशभरका विद्यालय तथा कलेजहरूले नयाँ भर्ना अभियानलाई तीव्र बन्नेछ ।
कोभिडपछिका वर्षहरूमा शैक्षिक गुणस्तरमा देखिएको चुनौतीबीच यस वर्षको नतिजालाई मिश्रित रूपमा हेरिएको छ। केही शिक्षाविद्हरूले उत्तीर्ण प्रतिशतलाई सकारात्मक संकेतका रूपमा लिएका छन् भने कतिपयले अझै पनि सिकाइ उपलब्धिमा सुधार आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले नतिजासम्बन्धी कुनै समस्या वा त्रुटि देखिए तोकिएको प्रक्रियामार्फत निवेदन दिन सकिने जानकारी दिएको छ।
View : 137
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved