Biratnagar, Morang, Nepal
स्थानीय तह

पूर्वमुख्यमन्त्री केदार कार्कीले भेटे देवानगञ्ज घटनाका पीडित परिवार, निष्पक्ष अनुसन्धानका लागि सरकारसँग आग्रह

-
अखवारका कुरा
१७ साउन २०८३, आइतवार

Advertisement

 

सुनसरी :  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनसँग शनिबार भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र प्रभावकारी शान्तिसुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ।

घटनास्थलको अवलोकनपछि मृतकका परिवारजनसँग समवेदना व्यक्त गर्दै कार्कीले राज्यले नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न असफल भएको अनुभूति स्थानीयमा बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले घटनामा संलग्न दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याइनुपर्ने र अनुसन्धानलाई कुनै पनि दबाब वा प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिनुभयो।

‘नागरिकले न्याय पाएको अनुभूति गर्नुपर्छ। घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनअनुसार कडा कारबाही गरिनुपर्छ,’ कार्कीले भन्नुभयो।

उहाँले पछिल्ला दिनमा देखिएका साप्रदायिक तनाव, झडप र हिंसात्मक घटनाले सामाजिक सद्भावमा गम्भीर चुनौती थपिएको बताउँदै सबै समुदाय, राजनीतिक दल, स्थानीय नेतृत्व र सरोकारवाला निकायलाई संयमता र जिम्मेवारीपूर्वक प्रस्तुत हुन आग्रह गर्नुभयो।

कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दै स्थानीय तहदेखि संघीय सरकारसम्मका निकायले शान्ति, सुरक्षा र सामाजिक विश्वास पुनःस्थापित गर्न प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

गत साता सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडपका क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट दुई जनाको मृत्यु भएको थियो। घटनापछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो भने विभिन्न राजनीतिक दल, नागरिक समाजले निष्पक्ष  छानबिन, पीडित परिवारलाई न्याय तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन्।

View : 28

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved