उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कोशी प्रदेशमा अवस्थित पशु सेवा तालिम केन्द्रमा “मत्स्य र बंगुरको परिकार तथा विविधीकरण” विषयक तालीम सम्पन्न भएको छ। जेठ ८ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त तालिममा प्रदेशका १४ वटै जिल्लाबाट सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तालिममा सहभागीहरूलाई माछा र बंगुरको परिकार तयारी, विविध परिकारमा प्रयोग हुने विधिहरू, स्थानीय उत्पादनको उपयोग तथा व्यावसायिक सम्भावनाबारे व्यावहारिक ज्ञान दिइएको थियो। तालिमका प्रशिक्षकका रूपमा एस्पायर कलेजका होटल म्यानेजमेन्ट तर्फका एकेडेमिक कोअर्डिनेटर सरोज पौडेल र कार्यकारी शेफ ए.पी. सिंहले प्रशिक्षण दिएका थिए।
शेफ सिंहले पोषणयुक्त र स्वादिलो परिकार बनाउने तरिका तथा आधुनिक खाना पकाउने विधिबारे विस्तृत जानकारी गराएका थिए भने सरोज पौडेलले तालीममा सहभागीहरूलाई स्थानीय स्रोतको प्रयोग गरी रोजगारी र उद्यमशीलता विकास गर्न सकिने विषयमा प्रशिक्षण दिएका थिए।
पशु सेवा तालिम केन्द्रका अनुसार यस्तो तालीमले स्थानीय तहमा कृषिजन्य व्यवसाय र रोजगारी सिर्जना गर्ने लक्ष्य बोकेको छ। सहभागीहरूले यस्ता तालिमले व्यवहारिक सीप बढाउने र स्वरोजगारतर्फ उन्मुख गराउने बताउँदै आगामी दिनमा यस्ता तालिम थप सञ्चालन हुनुपर्ने माग राखेका छन्।
View : 267
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved