विराटनगर— हस्पिटालिटी तथा क्याफे उद्योगमा दक्ष जनशक्तिको बढ्दो मागलाई लक्षित गर्दै विराटनगर जुनियर जेसीजले युवामुखी बारिस्टा कार्यशाला आयोजना गरेको छ। विराटनगरस्थित The Coffee Bar Barista Academy and Cafe मा सम्पन्न 'The Art of Coffee: Barista Workshop' मा ३५ जना युवाको सहभागिता रहेको थियो।
दुई चरणमा सञ्चालन गरिएको कार्यशालामा सहभागीहरूलाई कफी उद्योगको आधारभूत अवधारणादेखि व्यावसायिक बारिस्टाका रूपमा आवश्यक पर्ने व्यवहारिक सीपसम्मको प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षक आर्यन भण्डारीले कफीको इतिहास, विश्वव्यापी कफी संस्कृति, नेपालमा कफी खेतीको सम्भावना, कफीका विभिन्न प्रकार, गुणस्तर पहिचान, एस्प्रेसोमा आधारित पेय पदार्थ तयारी, कफी मेसिन सञ्चालन, ग्राहक सेवा तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी मापदण्डबारे प्रशिक्षण दिएका थिए।
सहभागीहरूले कफी तयार गर्ने सम्पूर्ण प्रक्रिया प्रत्यक्ष अभ्यासमार्फत सिकेका थिए। कफीको प्रस्तुतीकरण, ग्राहकसँगको व्यावसायिक व्यवहार तथा क्याफे सञ्चालनमा आवश्यक व्यवहारिक दक्षतामा समेत उनीहरूलाई प्रशिक्षण दिइएको थियो। प्रशिक्षणको अन्त्यमा विभिन्न प्रकारका कफी तयार गरी सहभागीहरूलाई स्वाद चखाइएको थियो।
आयोजक विराटनगर जुनियर जेसीजका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा क्याफे तथा हस्पिटालिटी उद्योग विस्तारसँगै दक्ष बारिस्टाको माग निरन्तर बढिरहेको छ। त्यसैले युवालाई सीपमा आधारित रोजगारी, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
विराटनगर जुनियर जेसीज वर्ष २०२६ का अध्यक्ष ओम जोगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रक्षिता तिम्सिनाले गरेकी थिइन्।
कार्यक्रमको समापनमा सहभागीहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक आर्यन भण्डारीलाई सम्मान गरिएको थियो। सहभागीहरूले कार्यशालाले हस्पिटालिटी क्षेत्रमा करिअर निर्माणका लागि आवश्यक व्यावहारिक ज्ञान र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए।
आयोजकले यस्ता सीपमूलक कार्यक्रमले युवालाई रोजगारीका अवसरसँग जोड्नुका साथै स्वदेशमै उद्यमशीलता प्रवर्द्धन गर्न समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
View : 39
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved