Biratnagar, Morang, Nepal
मनोरंजन

चलचित्र पत्रकार संघ कोशीको नेतृत्वमा साह

-
अखवारका कुरा
१० चैत २०८२, मङ्गलवार

Advertisement


विराटनगर - चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश समितिको तेस्रो अधिवेशनबाट वीरेन्द्रकुमार साह अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। सोमबार विराटनगरमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै संघको प्रदेश नेतृत्वलाई पुनर्गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन् भने महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला र कोषाध्यक्षमा गोपाल काफ्ले निर्वाचित भएका छन्। सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनील यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल रहेका छन्।
अधिवेशन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामीसहित सञ्चारकर्मी, चलचित्रकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै मेयर कोइरालाले चलचित्र पत्रकारिताले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले पत्रकारितामा निष्पक्षता, तथ्यपरकता र उत्तरदायित्व अपरिहार्य रहेको उल्लेख गरे।
केन्द्रीय अध्यक्ष बलामीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै संघलाई थप सक्रिय र प्रभावकारी बनाउन आग्रह गरे। उनले चलचित्र पत्रकारहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि र पेसागत मर्यादाको प्रवर्द्धनमा संघ प्रतिबद्ध रहने बताए।
अधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतले नयाँ कार्यसमितिले प्रदेशस्तरमा चलचित्र पत्रकारितालाई थप व्यवस्थित बनाउने अपेक्षा व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष साहले आफ्नो कार्यकालमा पत्रकारहरूको पेसागत क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र चलचित्र क्षेत्रसँग सहकार्य विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

View : 39

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved